पाँच शीर्ष नेता ,जसले सार्वजनिक रुपमै झापड खाए : कुन नेताले कहाँ भेटे झापड ?

पाँच शीर्ष नेता ,जसले सार्वजनिक रुपमै झापड खाए : कुन नेताले कहाँ भेटे झापड ?

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

काठमाडौं ।

कडा सुरक्षा घेराभित्र रहेका शीर्ष राजनीतिक नेतृत्वले झापड खानु सामान्य कुरा होइन । धेरैले यसलाई राजनीतिक कार्यकर्ताको नेतृत्वप्रतिको आक्रोशको रुपमा लिने गरेका छन् । हुन पनि कडा सुरक्षा घेराभित्र आफ्नै कार्यकर्ताबाट नेताहरुले यसरी सार्वजनिक रुपमा दुव्र्यवहार भोग्न बाध्य भएका छन् ।

नेताहरुले बाँडेको आश्वासन र देखाएको सपना व्यवहारमा कार्यन्वयन नहुँदा यसरी सार्वजनिक रुपमा नेताहरुले दुव्र्यवहार भोग्नु परिरहेको छ । त्यसमध्येका एक हुन्, नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

त्यसअघि, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला, पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माओवादी केन्द्रका नेता झक्कु सुवेदीले सार्वजनिक स्थलमै कार्यकर्ताको दुव्र्यवहार सहन बाध्य भए । यसमध्ये, कतिपयले कार्यकर्ताकै चड्कन खाए भने कतिपयलाई जुत्ता प्रहार गरियो ।

देश र जनताका लागी भनेर जीवन नै समर्पन गरेका नेताहरुलाई झापड हान्न किन तयार हुन्छ आफ्नै कार्यकर्ता ?

प्रचण्डलाई झापड हानेका पदम कुँवर, झलनाथलाई झापड हानेका देवीप्रसाद, डाक्टर. भट्टराईलाई जुत्ता प्रहार गरेका सञ्जीव भट्टराईको एउटै तर्क छ कि नेताहरुले राजनीतिको नाममा आफ्नो स्वार्थ मात्रै पूरा गरे र जनताको जीवनमा खेलबाड गरे । नेताहरुलाई जनतालाई समृद्धीको सपना बाँडे तर, आफ्नै समृद्धीमा मात्रै ध्यान दिए ।

कुन नेताले कहाँ भेटे झापड ?

यसरी झापड भेट्ने मध्ये झक्कु सुवेदी बाहेक सबैले सार्वजनिक कर्याक्रममा नै आफ्नो कार्यकर्ताको झापड सहन बाध्य भए । पढ्नुहोस्, कुन नेतालाई कहाँ भएको थियो दुर्व्यवहार ?

 

पुष्पकमल दाहाल (प्रचण्ड)

झापड खाने नेताहरुको पहिलो नम्बरमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । उनले आफ्नै नेतृत्वमा भएको सशस्त्र युद्धमा सहभागी एक लडाकुको परिवार सदस्यबाट झापड खानु परेको थियो ।

विसं २०६९ साल मंसिर २ गते माओवादीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा माला लगाइदिने भन्दै बाग्लुङका पदम कुँवरले प्रचण्डलाई झापड हानेका थिए । कुँवरले प्रचण्डलाई झापड हान्दा उनको चस्मा नै फुटेको थियो । कुँवरले प्रचण्डलाई झापड हानेपछि आक्रोशित बनेका माओवादी कार्यकर्ताले कुँवरमाथि हातपात गरेका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेको कुँवरलाई प्रचण्डले नै धरौटी वापतको रकम उपलब्ध गराई हिरासतमुक्त गरेका थिए ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले पनि सार्वजनिक कार्यक्रममा झापड बेहोर्नुपर्यो । २०६७ माघको पहिलो हप्ता सुनसरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता खनालले स्थानीय देवीप्रसाद रेग्मीको झापड खाएका थिए । पार्टी प्रवेश गर्न लामबद्ध बनेका कार्यकर्ताहरुसँगै लामबद्ध भएर रेग्मी खनाल भएको ठाउँमा पुगेका थिए । नेता खनालले रेग्मीसँग हात मिलाएर उनलाई टीका लगाइदिन खोजेका थिए । तर, रेग्मीले टीका लगाउन इन्कार गरे ।

त्यसपछि नेता खनालले दुवै हात तल राखेको मौका पारी रेग्मीले नेता खनाललाई झापड हानेका थिए । रेग्मीले नेता खनाललाई झापड हान्दा उनको चश्मा भुईंमा खसेको थियो भने नाकमा सामान्य चोट लागेको थियो ।

स्व. सुशिल कोइराला

सरल र निष्ठावान् राजनीतिज्ञको छवी बनाएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाले पनि आफ्नै कार्यकर्ताको आक्रोश सहनुपर्यो । २०६९ साल असोज १३ गते काठमाडौंको कपनमा आयोजित पार्टीको कार्यक्रममा उपस्थित भएका तत्कालिन पार्टी सभापति सुशिल कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमणको प्रयास गरेका थिए ।

उनले स्टेजमा रहेका सुशिल कोइरालमाथि झ्यालको फ्रेम प्रहार गरेका थिए । त्यसपछि, कोइरालालाई युवा नेता गगन थापा सहितका नेता कार्यकर्ताले बचाएका थिए । बस्नेतलाई भने कांग्रेस कार्यकताले आक्रमण गरी घाइते बनाएका थिए ।

डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि पोखरामा जुत्ता प्रहार गरियो । पोखराको पृथ्वी नारायण क्याम्पसमा पार्टीको विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई भट्टराईले सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा कार्यक्रममा उपस्थित कैलाकीका ३४ वर्षीय सञ्जिव भट्टराईले डाक्टर भट्टराईलाई कालो झण्डा देखाउनुका साथै जुत्ता प्रहार पनि गरेका थिए ।

भलै, संञ्जिवले प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन । त्यसपछि जुत्ता प्रहार गर्ने भट्टराईलाई पार्टीका विद्यार्थी संगठनका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । तर, प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएपछि उनी जोगिएका थिए ।

झक्कुप्रसाद सुवेदी

माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि झापड खानुपर्यो । उनलाई तीनकुनेस्थित एक चिया पसलेले चिया खुवाइसकेपछि २ झापड हानेका थिए । २०६९ जेठ २ गते तत्कालिन् सभासद् समेत रहेका सुवेदी संविधानसभाको बैठक सकेर घर फर्कंदै थिए । सोही समय गोर्खाको गाईखुर–८ का प्रेमराज देवकोटाले सुवेदीलाई बोलाएर संविधान कहिले बनाउँछौ भनेर सोधेका थिए ।

सुवेदीले ‘हामी संविधान बनाउँदैछौं । धेरै विषय मिलाउनुपर्ने छ । केही समय लाग्छ । जनताले धैर्य गर्नुपर्छ’ भनेका थिए । सुवेदीले यति भनेपछि देवकोटाले सुवेदीको गालामा दुई झापड हानेका थिए ।

नेताहरुले सबैलाई माफी दिए

आफूलाई आक्रमण गर्नेप्रति सबै नेता उदार देखिए । कसैले पनि कडा कारबाहीको माग गरेनन् । बरु, प्रहरीले नियन्त्रणमा लिएका ती ‘आक्रमणकारी’लाई आफ्नै पहलमा रिहा गराए । आफुलाई झापड हान्ने पदम कँुवरलाई प्रचण्डले माफी दिन आग्रह गरेका थिए । उनलाई हिरासतबाट निकाल्न चाहिने रकम पनि प्रचण्डले नै उपलब्ध गराएका थिए ।

त्यस्तै, एमाले नेता झलनाथ खनालले पनि आफुलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी गरिदिन आग्रह गरेका थिए ।

सुसिल कोइरालामाथीको आक्रमणका विषयमा कांग्रेसले छानविन समिति गठन गरेपनि पछि आक्रमणकारी बस्नेतलाई कोइरालाले माफी दिएका थिए ।

त्यस्तै, बाबुराम भट्टराई माथि जुत्ता प्रहार भए पनि उनले जुत्ता प्रहार गर्ने संञ्जीव भट्टराईलाई प्रहरी नियन्त्रणमा नराख्न र चर्चाको विषय नबनाउन आग्रह गरेका थिए ।

नेता माथिको आक्रमण ‘उदण्डता’

यसरी शीर्ष नेतामाथि गरिएको आक्रमणलाई धेरैले उदण्डताको रुपमा लिएका छन् । आफ्नै कार्यकर्ता वा सर्वसाधारण जोसुकैले भए पनि भौतिक रुपमा आक्रमणमा उत्रिनु गलत भएको भन्दै सोसल मिडियामा विरोध भएको छ । नेताहरु पनि वितृष्णा भए पनि त्यसको अभिव्यक्ति हिंस्रक हुन नहुने सोसल मिडिया प्रयोगकर्ताहरुको रहेको छ ।-नेपालीपत्र

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी