पोखरा कार्तिक १० ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनले कांग्रेस एक ढिक्का हुनुका साथै अराजकतालाई हल गर्न मद्धत मिलेको बताउनु भएको छ ।
कास्कीको लेखनाथमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बाम गठबन्धनले नेपाली कांग्रेसलाई पनि फाईदा पुगेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘बिजय गच्छदार कांग्रेसमै फर्किए, अरुसंग पनि एकता हुँदैछ, बाम गठबन्धनका कारण भयो, त्यसैले यसबाट आत्तिनु पर्दैन, बरु माओवादी र मलाई धन्यवाद दिनुपर्छ ।’
बाम गठबन्धन कसैप्रति परिलक्षित नभएको दोर्होयाउदै उहाँले यसले मुलुकलाई राजनीतिक स्थिरतातर्फ लगेको बताउनुभयो ।
छिरोलिएका कम्युनिष्ट एक ठाउँमा ल्याउन सहयोग पुगेको र कांग्रेसभित्रको अराजकतालाई रोक्न पनि सहयोग पुगेको भन्दै अध्यक्ष दाहालले लोकतन्त्र र शान्तिपूर्ण राजनीति भन्दा बाहिर कोही जान नसक्ने उल्लेख गर्नुभयो ।
बाम गठबन्धनले एउटा तरंग ल्याएको भन्दै उहाँले यो आफ्नो राजनीतिक एजेन्डा अनुसार नेपाल र नेपाली जनताको पक्षमा अभिमत अनुसार रहेको बताउनुभयो ।
निर्वाचनमा बिभिन्न तालमेल हुने भएकाले बाम गठबन्धनलाई सहज र स्वभाविकरुपमा लिनुपर्ने भन्दै उनले यसलाई लोकतान्त्रिक अभ्यासभित्रैको कुरा लिनुपर्ने बताए ।
लोकतन्त्र, राजनीतिक स्थिरता र आर्थिक समृद्धिकालागि निर्वाचन अपरिहार्य रहेको र निर्वाचनबारे कहिकतैबाट अन्यौल वा भ्रम सिर्जना गर्न नहुने उहाँको भनाई थियो ।