काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसले कम्युनिष्टहरु लोकतन्त्र विरोधी, अधिनायकवादी र निरंकुश भएको आरोप लगाएको छ ।
कांग्रेस निर्वाचन प्रचार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर निरंकुशता र अधिनायकवाद विश्वबाट परास्त भएकाले नेपालका कम्युनिष्ट पनि आगामी निर्वाचनबाट समाप्त हुने दाबी गरेको हो ।
प्रचार समितिका संयोजक बालकृष्ण खाँडले कांग्रेस सिध्याउन लागेका राणा, राजा आफैं समाप्त भएको भन्दै कांग्रेस सिध्याउन एकजुट भएका एमाले र माओवादी पनि सकिने चेतावनी दिनुभयो ।
उहाँले लोकतन्त्र मास्न खोज्ने एमाले र माओवादीको अभीष्ट कांग्रेसले पूरा हुन नदिने दृढता व्यक्त गर्नुभयो ।
कम्युनिष्ट गठबन्धन कांग्रेसलाई चुनौति नभई अवसर बनेको भन्दै खाँडले प्रदेश र केन्द्रीय निर्वाचनमा बहुमत ल्याउने र सरकार बनाउने उद्घोष गर्नुभयो ।
कांग्रेस निर्वाचन चाँहदैन भन्नेहरुले नै चुनाव भाड्ने षड्यन्त्रमा लागेको आरोप लगाउँदै खाँडले तोकिएकै मितिमा निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।