काठमाडौँ, १० कात्तिक
निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य सुरु गरेको जनाएको छ ।
सर्वाेच्च अदालतको पछिल्लो आदेशका कारण अन्यौलतामा परेको आयोगले पुरानै कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको मतपत्र छाप्ने काम सुरु गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभयो ।
राजधानीमा आज आयोजीत अन्तरक्रियामा उहाँले पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएकोले आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको जानकारी दिनुभयो ।
डा यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पष्ट गर्नुुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभा हुन्छ ।”
डा आयुक्तले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्चस्तरको सुरक्षा प्रबन्ध भएको विश्वास दिलाउनुभयो ।
उहाँले निर्वाचनसम्बन्धी अदालतको आदेश अहिलेसम्म आयोगले प्राप्त गरेको छैन भन्दै मतपत्र छपाइ नरोकिने र निर्वाचन निर्धा्रित समयमै हुने स्पष्ट पार्नुभयो ।