प्रचण्ड र ओलीले भने , निर्वाचन सार्न मिल्दैन : हेर्नुस् चार बुदे बिज्ञप्तीमा के छ ?

प्रचण्ड र ओलीले भने , निर्वाचन सार्न मिल्दैन : हेर्नुस् चार बुदे बिज्ञप्तीमा के छ ?

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ , ९ कार्तिक ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन विरुद्ध अन्यौल सिर्जना नगर्न अपिल गरेका छन् ।

काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्ड र ओलीले मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसविरुद्ध भ्रम र अन्यौल नपार्न अपिल गरेका हुन् ।

‘निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य हो,’ संयुक्त पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीं कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन ।’

वाम गठबन्धन बनाएर चुनावी अभियानमा सँगै निस्किएका ओली र दाहालले चुनाव प्रभावित भए लोकतान्त्रिक अभ्यास अवरुद्ध हुने, लोकतान्त्रिक प्रणाली कमजोर हुने उल्लेख गरेका छन् ।

एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक वहस विवादमा नअल्झन पनि आग्रह गरेका छन् । अध्यक्ष ओली र प्रचण्डले सर्वोच्च अदालतको आदेशलाई अनावश्यक ब्याख्या गरेको भन्दै असन्तुष्टि नजनाउन पनि आग्रह गरेका छन् ।

‘निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वा्चित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरी मतपत्र छपाईको कार्य अगाडि बढाइसकेको छ,’ संयुक्त विज्ञप्तीमा लेखिएको छ, ‘मतपत्रको उक्त ढाँचाबाट कुनैपनि नागरिक या मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट छ ।’

आगामी माघ ७ गते अगावै निर्वाचनका सम्पूर्ण कामहरु सम्पन्न भई संसद गठन भइसक्नु पर्ने उललेख गर्दै एमाले र माओवादीले आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु सम्भव र उचित नभएको धारणा राखेका छन् ।

‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम–कुरा लोकतान्त्रिक अभ्यासका विरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनैपनि किसिमको काम–कुरा नगर्न हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौ ।’

पत्रकार सम्मेलनमा ओली, दाहालसहित एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भूसालगायतको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा बोल्दै माओवाद्यी अध्यक्ष प्रचण्डले यदि तोकिएको मितिमा नै निर्वाचन नभए संसद पुनस्र्थापना हुने बताउनु भयो । सन्चारकर्मीले सोधेको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो , निर्वाचन प्रक्रिया सुरु भएकाले मात्रै संसद बिघठन भएको हो त्यसैले निर्वाचन नभए पुनस्थापाना हुन्छ ।

विज्ञप्तिमा प्रमुख चार बुँदा 

–निर्वाचनका लागि कुनै पनि किसिमको भ्रम र अन्योल हुनु हुँदैन। निर्वाचनमा अवरोध हुनु जनताको मतदान गर्ने अधिकारमाथिको हस्तक्षेप हो,

–मतपत्रका सम्बन्धमा अनावश्यक विवादमा नअल्झिई निर्वाचनको तयारीमा सबै एकजुट हुनुको विकल्प छैन। मतपत्र छपाइको कार्य अगाडि बढिसकेकाले यसलाई रोक्ने वा अवरोध गर्ने कुरा जनतालाई स्वीकार्य हुँदैन,

–माघ सात गते अगावै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर संसद्ले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने संवैधानिक बाध्यता भएकाले निर्वाचन सार्नु उपयुक्त हुँदैन,

–निर्वाचन अयाोग लगायत सबैलाई निर्वाचनको जारी प्रक्रियालाई बिना अवरोध अगाडि बढाउन आग्रह गर्दछौँ।

यसअघि नै एमालेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सार्वजनिक गरिसकेको छ भने बिहीबार नै एक कार्यक्रममा बोल्दै प्रचण्डले चुनाव विथोलिए संसद् ब्युँतिले चेतावनी दिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ