काठमाडौं कार्तिक ९, ।
नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले दोस्रो चरणको संघ र प्रदेशसभा निर्वाचनमा पहिला गठबन्धन आवद्ध शीर्ष नेताहरुको चुनावी क्षेत्र टुङ्ग्याउने निर्णय गरेको छ ।
गठबन्धनको आज बिहान बसेको कार्यदल बैठकले सहमति हुन नसकेका क्षेत्रमा पहिला गठबन्धन आबद्ध शिर्ष नेताहरुको चुनावी क्षेत्र टुङ्ग्याउने अनि मात्रै दलीय भागवण्डा गर्ने सहमति गरेको हो ।
२ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरमले बढी सिट संख्या दावी गरेपछि कार्यदलमा समस्या भएपछि पहिले शिर्ष नेताको चुनावी क्षेत्र टुङग्याउने सहमती गरेको बैठकमा सहभागी नेताहरुले जनाएका छन् ।
तर कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले सिट संख्याबारे बाहिर आएको जस्तो विवाद नभएको बताउनु भयो । उहाँले आजको बैठकमा दुई नम्बर प्रदेशमा जिल्लामा गठबन्धन भित्रका कुन–कुन नेता उठ्छन् ,पहिला त्यसलाई टुङग्याएर मात्रै भागबण्डाको विषयमा प्रवेश गर्ने सहमति भएको बताउनु भयो ।
काँंग्रेस सहित राजपा, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँशक्ति पार्टी आवद्ध लोकतान्त्रिक गठबन्धनमा आगामि निर्वाचनमा एक अर्कालाई सघाउने पनि सहमती भएको उहाँले बताउनु भयो ।
कार्यदल सदस्य शुक्लाले आजको बैठकले सहमतीको ठोस खाका तयार गरिसकेको समेत दावी गर्नुभयो ।