८ असोज,अछाम । आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको चुनावको टिकटलाई लिएर माओवादी केन्द्र अछाममा किचलो सुरु भएको छ । अध्यक्ष प्रचण्ड र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले पैसा खाएर जनयुद्ध, माओवादी आन्दोनल र जिल्ला पार्टीमा कुनै भूमिका नभएका व्यक्तिलाई टिकट दिने तयारी गरेको जिल्ला नेताहरुले गम्भीर आरोप लगाएका छन् । जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताको पूर्ण असहमति हुँदाहुँदै क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभाको टिकट व्यवसायी झपट बोहरालाई दिने केन्द्रमा तयारी भएको भन्दै जिल्लामा बिरोध भएको हो ।
जिल्लामा विरोध गर्दागर्दै पार्टी पनि अध्यक्ष प्रचण्ड र नेता भट्टको मिलेमतोमा बैंक संचालक हुँदै जग्गा व्यवसायी बोहरालाई टिकट दिने अन्तिम तयारी भइरहेको भन्दै अछामका नेता–कार्यकर्ताले खुलेरै विरोध गर्न थालेका छन् । कैलालीमा रहेको बोहराको मतदात नामावली कसैलाई जानकारी नै नदिएर अछाम सारेर टिकट दिने तयारी भइरहेको माकेको एक जिल्ला नेताले अनलाइन डबलीलाई बताए ।
अछामको पार्टीमा कुनै पनि भूमिका नरहेका बोहरालाई उम्मेवारी दिने तयारी भइरहेको भन्दै रविन्द्र साउदले उम्मेदवारी घोषणा गरेका छन् ।
“न जनयुद्धमा न अछाम पार्टीमा कुनै भूमिका नभएका व्यक्तिलाई केन्द्रको हस्तक्षेप गरेर टिकट दिने तयारी भइहरेको छ । नेताहरु पैसाको लोभमा योगदान र बलिदान गरेका नेताहरुलाई पाखा लगाउन लागेका कारण मैले उम्मेदवारी घोषणा गरेको हुँ” रविन्द्रले अनलाइन डबलीसँग भने । उनले पैसा र चाकरीकै अाधारमा पार्टी अध्यक्ष प्रचण्ड र प्रदेश इन्चार्ज भट्टले टिकट वितरण गर्न लागेको समेत दाबी गरे ।
अछाममा जनयुद्धको सुरुदेखि नेतृत्व गर्दै आएका खगेन्द्र रोकाया र दिपक साउदजस्ता पार्टीको लागि योगदान पुर्याउने नेताहरुलाई पाखा लगाउन पार्टी केन्द्रमा षड्यन्त्र भएको रविन्द्रले अारोप लगाए । खगेन्द्र र दिपक दुबै जनाले जिल्लाको नेतृत्व गरिसकेका नेता हुन् । दोस्रो संविधानसभा निर्वाचनमा एमाले उपाध्यक्ष भीम रावलसँग प्रतिस्पर्धा गरेर दिपकले पार्टीको सम्मानजन हैसियत बनाएका थिए ।
अछामबाट कैलाली बसाईसराई गरिसकेका बोहराको २०६९ सालतिर माओवादी नेताहरुसँग चिनजान भएको थियो । उनले माओवादी केन्द्रका सुदूरपश्चिमका नेता लेखराज भट्टमार्फत अध्यक्ष प्रचण्डसम्म बोहराले सम्पर्क बनाएको एक नेताले बताए । त्यही चिनजानकै कारण बोहरालाई प्रचण्डले पार्टीको सल्लाहकारमा बनाएका थिए ।
“अध्यक्ष कमरेड प्रचण्ड अछाम आउँदा गाडीमा चढाएको गुन तिर्न टिकट दिने तयारी भइरहेको छ, गाडीमा चढाएकै कारण जिल्लामा लामो समयदेखि भूमिका खेलेका नेता–कार्यकतालाई अपमान गर्ने कार्यप्रति गम्भीर आपत्ति छ” जिल्लास्थित एक केन्द्रीय सदस्यले बताए । ती नेताका अनुसार जिल्लाका ३४ जना आयोजक समिति सबैले विरोध गर्दापनि अध्यक्ष प्रचण्ड र नेता भट्टले बोहरलाई नै टिकट ‘बिक्री’ गर्ने तयारी भइरहेको उनको दाबी छ ।
“अध्यक्ष कमरेडको ठाडो निर्देशनमा जनयुद्ध हुँदै हालसम्म पार्टीको लागि ज्यान दिने नेताहरुलाई अपमान गर्दै चैतेलाई टिकट दिए हामी प्रतिकारमा उत्रने छौं र सबै जिल्ला पार्टीसहित म चुनावमा जान्छु, कसले जित्दोरहेछ हेरौंला” उम्मेदवारी घोषणा गरेका रविन्द्रले भने । उनी जनयुद्ध हुँदै हालसम्म पार्टीको लागि लामो योगदान गरेका इमान्दार नेता हुन् ।
जनयुद्धदेखि हालसम्म पार्टी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पूर्वजिल्ला अध्यक्ष खगेन्द्र रोकाया र दिपक साउदलाई टिकट दिनुपर्ने जिल्लाका नेता-कार्यकर्ताको माग छ । पार्टी केन्द्रले जबरजस्त बोहरलाई टिकट दिए आफूहरु अलगै उम्मेदवारी दर्ता गर्ने निर्णयमा जिल्ला अधिकांश नेता-कार्यकर्ता एक मत छन् ।
जिल्ला संयोजक झपट साउदले समेत बोहराको पैसा खाएर उनलाई सिफारिस गर्न लगाएको आरोप जिल्लाका नेता कार्यकर्ताहरुले लगाउन थालेका छन् ।
बोहरा सिफारिस नहुने भएपछि जिल्ला संयोजक साउदले पार्टीको बैठक नबसी काठमाडौँको एक होटलमा केही व्यक्तिहरुलाई बोलाएर सिफारिस गरेको एक नेताले आरोप लगाए ।