काठमाडौं, कात्तिक ५ । पहिलो चरण अन्तरगतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेद्वार मनोनयन दर्ता गरिँदैछ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिले ३२ जिल्लाको ३७ सीटका लागि उम्मेदवारी दर्ता गराउन सक्नेछन् । उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुने छ ।
मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान १० देखि साझ ५ बजेम्मको समय दिएको छ ।
उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।
प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ ।
त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।
आयोगले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तोकिएकाले समयमै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका लागि कर्मचारीहरु सम्बन्धित कार्यालयमा पुगिसकेका छन् ।
आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेद्वारको बन्दसूची पेश गरेपछि उम्मेद्वारका हकमा पनि निर्वाचन आचारसंहिता लागू भईसकेकाले निर्वाचन सफल बनाउन आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको छ ।