काठमाडौं, कात्तिक २ । नेपाल विद्युत प्राधिकरणले आज देशैभर लोडसेडिङ नगर्ने भएको छ । गत बर्ष लक्ष्मी पूजाको राति काठमाडौं उपत्यकामा लोडसेडिङ नगरेको प्राधिकरणले आज भने देशैभर लोडसेडिङ नगर्ने योजना बनाएको हो ।
आज हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको लक्ष्मी पुजा परेकाले साँझ सबैभन्दा बढी बिजुली माग हुने गरेको भएपनि रातभरी देशैभर बत्ती दिने प्राधिकरण जनाएको छ ।
त्यसका लागी देशभर व्यावस्थापकिय तयारी गर्नुका साथै सबस्टेसन तथा ट्रान्सफर्मरहरुको चेकजाँच गरिएको जनाइएको छ । कहीकतै ओभरलोडका कारण विजुली गए तत्काल मर्मतका लागि टोली तयारी अवस्थामा राखिएको छ ।
देशैभर लोडसेडिङ नगर्दा एक हजार ५ सय मेगावाट विजुली आवश्यक पर्ने र क्षेत्रगत हिसाबमा उपत्यका र आसपासका जिल्लाहरुमा सवैभन्दा बढी ३ सय ५० मेगावाटसम्म विजुलीको माग हुने अनुमान गरिएको छ ।
भारतबाट ल्याइएको ४ सय मेगावाटसहित कुल जडित क्षमता भने १२ मेगावाट रहेकोमा उद्योगहरु बन्द गराएर घरेलु प्रयोजनमा आजराति बिजुली दिइने जनाईएको छ ।
यस्तै हेटौंडामा रहेको डिजेल प्लान्ट पनि चलाइने छ । प्राधिकरणले सूचना नै जारी गरेर सर्वसाधारणलाई बढी बिजुली खपत हुने सामग्री सकेसम्म प्रयोग नगर्न भनेको छ भने ब्यापारिक मल तथा ठूला होटेलहरुलाई जेनरेटर चलाएर सहयोग गर्न आग्रह गरेको छ ।