काठमाण्डौ , ३१ असोज ।
नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । सरकारले चुनाव सार्ने तयारी गरेको सूचना आएको भन्दै तत्काल सरकार नछाड्ने जनाएको हो ।
माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने सूचना प्राप्त भएकाले पार्टीले सरकार नछोड्ने निर्णय गरेको बताउनु भयो ।
आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाएर चुनावको मिति सार्ने तयारी गरेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको बताउनु भएको हो ।
आज बिहान मात्र प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको थियो।
सो लगत्तै माओवादी केन्द्रले मन्त्रीहरु सरकारबाट बाहिरिएको जानकारी सहित सरकार छाड्ने घोषणा गर्न ड्राफ्ट समेत गरेको थियो ।
यद्यपी देउवा र प्रचण्डबीच भेटवार्ता भएको केही बेरमा निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि तत्काल माओवादीले सरकार नछोड्ने निर्णय गरेको गृहमन्त्री शर्माले बताउनु भयो ।
गृहमन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूले पार्टी अध्यक्षले सरकारको नाममा लेखेको पत्र पाएको तर, आयोगबाट आएको सूचना लगत्तै अर्कै निर्णय भएकाले तत्काल सरकार नछोड्ने निर्णयमा पुगेको बताउनु भयो ।
पार्टीले सरकारबाट बाहिरिएको घोषणा गरेलगत्तै आफुहरु बाहिरिने जानकारी दिदैँ उहाँले भन्नुभयो तर चुनाव सार्ने षड्यन्त्र गरिए बरु बिना विभागिय मन्त्री बनेर बस्ने छौ सरकारबाट बाहिरिदैनौ ।