३० असोज, काठमाडौं ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राख्नुभएको छ ।
एमाले र माओवादी गठवन्धनसँग प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३० सिट दावी गरेको नयाँ शक्तिले आफ्नो माग पुरा नभएपछि काग्रेससँग तालमेलको प्रयास गरेको हो ।
आज साझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर डा. भट्टराई आज साझ तालमेलको प्रस्ताव गर्नुभएको हो ।
कांग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले बाबुरामको प्रस्तावमाथि विस्तृत छलफल भने नभएको बताईएको छ ।
तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका भट्टराईलाई कांग्रेस नेताहरुले सकारात्मक जवाफ दिएको नयाँ शक्तिको दाबी छ ।
कांग्रेस नयाँ शक्तिसँग तालमेलका लागि तयार रहेको भन्दै जित्ने निश्चित भएका निर्वाचन क्षेत्र प्रस्ताव गर्न कांग्रेस नेताहरुले डा. भट्टराईलाई सुझाएका छन् ।
गोरखा क्षेत्र नम्बर २ डा. भट्टराईलाई छाड्न कांग्रेस नेताहरु सहमत भइसकेको र त्यस वापत एक नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमती भएको जनाईएको छ ।
गोरखा २ मा डा. भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठलाई एमालेको साथ रहने छ भने भट्टराईले कांग्रेसको साथ पाउने छन् ।
नयाँ शक्तिले प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना उम्मेदवारको मात्र नाम सार्वजनिक गरेको छ । ती क्षेत्रमा कांग्रेसले आफूलाई सघाउनुपर्ने नयाँ शक्तिको माग छ ।
भोली कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेलबारे ठोस छलफल गर्ने सहमति भएको स्रोतले जनाएको छ ।
यसैबीच नयाँ शक्ति पार्टीले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग पनि तालमेलको प्रयास गरिने जनाएको छ ।