काठमाडौँ, २८ असोज ।
रक्षामन्त्री भीमसेनदास प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताउनु भएको छ ।
त्यसका लागि मुलुकलाई सम्पन्न बनाउनका लागि काँग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने मन्त्री प्रधानले बताउनुभएको छ ।
अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने उहाँको भनाई छ ।
नेपालका कम्युनिष्टबीचको एकताले काँग्रेसलाई कुनै असर नगर्ने विचार व्यक्त गर्दै मन्त्री प्रधानले राणा शासनदेखि राजासम्मलाई फाल्ने काँग्रेस कम्युनिष्ट गठबन्धनसँग नडराउने बताउनुभयो ।
संसदीय निर्वाचनमा आफूले क्षेत्र नं ६ बाट नै चुनाव लड्ने बताउँदै उहाँले भन्नुभयो– “यो क्षेत्रमा मेरो निकै ठूलो योगदान र लगानी छ, त्यसेले यो क्षेत्रबाट म चुनाव लड्दै छु ।”
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले स्थानीय निकायमा कर्मचारीको अभावमा जनताका काम गर्न निकै कठिन भएको बताउँदै नगरपालिकामा योजना, प्रशासन फाँट नै छैन, कार्यकारी र केही कर्मचारीले सबै कुरा एकैपटक गर्नुपर्दामा काममा ढिलाइ भइरहेकाले आवश्यक कर्मचारीको माग गर्नुभयो ।