काठमाडौं ,२७ असोज ।
आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा गर्ने प्रमुख राजनीतिक दलले प्रतिवद्धता जनाएका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रिय कार्यलयमा आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रमुख दलका नेताले तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
पछिल्लो पटक मुलुकमा देखिएको राजनितिक परिस्थीतिका कारण मंसिर १० गतेको पहिलो चरणको निर्वाचन सर्ने हल्लाका बीच निर्वाचन आयोगले आज चुनावको सुनिश्चितताबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग प्रतिवद्धता मागेको हो ।
छलफलमा निर्वाचन आयोगले चुनावका लागि केन्द्रीयस्तरमा गर्नुपर्ने कामको तयारी अन्तिम चरणमा र्पुयाएको जानकारी गराएको थियो ।
सोहि क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो ।
छलफल पछि पत्रकारहरुसँगको कुराकानीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनका लागि निर्वाचन तोकिएकै मितिमा गराउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभयो ।
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गराउन दलहरुको प्रतिवद्धता चाहेकाले तोकिएकै मितिमा चुनाव गराउन आफुहरुको सहमती र समर्थन रहेको बताउनुभयो ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सबै दल प्रतिवद्ध रहेको बताउनुभयो ।
विगतका निर्वाचनमा सरकारमा रहेका दलले पद तथा शक्तिको दुरुपयोग गरेर चुनावमा नतिजा आफ्नो हातमा पार्ने गरेको भन्दै आगामी चुनावमा यस्ता गतिविधि हुन नदिन आयोग र स्वयं राजनीतिक दल नै सचेत हुनु पर्ने विषयमा बैठकमा छलफल भएको यादवले जानकारी दिनुभयो ।
उहाँले आचार संहिता उल्लंघन गर्ने दल तथा उम्मेदवारलाई आयोगले तत्काल कारबाही गर्नुपर्ने र सरकारको अगाडि आयोग निरिह बन्न नहुने तर्क गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन तोकिएकै मितिमा गर्न दलहरु प्रतिवद्ध रहेको जानकारी दिदै आचारसंहिता पूर्ण रुपमा पालन हुने अपेक्षा गरेको बताउनुभयो ।
पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आगामी आइतवार मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपाका नेता बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा, नेकपा (माले)का महासचिव सिपी मैनाली, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाललगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।