गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

काठमाडौँ, २६ असोज।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आवभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक पर्ने गिट्टी, ढुङ्गा, माटो र विद्युत्को नियमित आपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइ भएको सन्दर्भमा समितिले गम्भीर चासो लिई सरोकार भएका निकाय पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), विमानस्थल आयोजना प्रमुख लगायतसँग दुई दिन छलफल गरेको थियो ।

उक्त आयोजनाको भौतिक एवम् वित्तीय प्रगति सन्तोषजनक नरहेको बताइन्छ । समितिले आयोजना सम्पन्न हुने समय सकिन अब केही महिना मात्र बाँकी रहँदा २६÷२७ प्रतिशत भौतिक र २३ प्रतिशत मात्र वित्तीय प्रगति हुनुले आयोजना समयमा सम्पन्न हुन नसक्ने र शुरुको अनुमानित लागतभन्दा बढी लाग्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।

समितिका सभापति डोरप्रसाद उपाध्यायले ठेकेदार, आयोजना प्रमुख, क्यान र मन्त्रालयले समेत आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह नगर्दा आयोजनाको अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको बताउनुभयो । उहाँले आयोजना समयमै सम्पन्न नभएमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

बैठकले जग्गा अधिग्रहण र मुआब्जा वितरणको कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरेको छ ।

त्यसैगरी, जग्गाको मुआब्जा वितरण गर्दा लाग्ने पुँजीगत लाभकरसम्बन्धी विवादका कारण मुआब्जा वितरण र आयोजना प्रभावित भएको सन्दर्भमा सो समस्यालाई सम्बन्धित मन्त्रालयको समन्वयमा नीतिगत रुपमा समाधान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले स्थानीय आपूर्तिकर्ताबाट नियमित निर्माण सामग्री आपूर्ति हुने वातावरण बनाउन तथा ठेकेदार कम्पनीले प्राप्त गरेको भुक्तानी र सम्पन्न कामबीचको अनुपात यकिन गरी सोही बमोजिम काम गराउन र कार्य सम्पन्न भएको प्रतिवेदन हरेक महिना समितिलाई उपलब्ध गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएकोे छ ।

बैठकमा धनराज गुरुङ, चुडामणि जंगली, रामहरि खतिवडा लगायतका सांसदले आयोजना निर्माणका जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ ले पूर्ण रुपमा जिम्मेवारी लिई फिल्डमा काम नगरेकै कारण निर्माण कार्यमा ढिलाइ भएको र यसमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी