माओवादी केन्द्र र संयुक्तबीच पार्टी एकता

माओवादी केन्द्र र संयुक्तबीच पार्टी एकता

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

 

काठमाडौँ, २५ असोज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ ।
आज यहाँ एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको धु्रबीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – “नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसांँै शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।”
उहाँले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिनुभयो र यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गर्नुभयो ।
आफूले पटक÷पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै उहाँले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा(एमाले)सहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताउनुभयो ।
संयुक्तका सबै नेता, कार्यकर्तालाई उहाँहरुको भूमिका र योग्यता अनुरुप माओवादीमा जिम्मेवारी दिइने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिनुभयो ।
कम्युनिष्ट पार्टीहरुबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै उहाँले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन् । सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरहनुभएको छ ।

संयुक्त प्रेस वक्तव्य
देशको क्रान्तिकारी परिवर्तन र लोकतान्त्रिक रुपान्तरणका लागि निरन्तर संघर्ष गर्दै अलग अलग पृष्ठभूमिबाट आएका हामी दुई राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बीच पार्टी एकता गर्न सहमत भएका छौं ।
हामीबीच रहेका कतिपय सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै समान धारणा बनाउन प्रयत्न गरिने छ । पार्टी एकतामा आबद्ध सबै तहका नेता तथा कार्यकर्ताको आपसी छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीभित्र यसको संस्थापन कालदेखि नै विचारधारात्मक र राजनीतिक बहस, संघर्ष, विभाजन र एकताका श्रृङ्खलाहरु पार गर्दै आजको स्थितिसम्म आइपुगेको छ । देशका सच्चा वामपन्थी, देशभक्त, कम्युनिष्ट क्रान्तिकारीहरुको विशाल जनमत विभाजित हुँदा सधैं सामन्ती, दलाल र नोकरशाह वर्ग हावी हुने गरेको कुरा आत्मसात गर्दै देशका दुई ठूला राजनीतिक पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायतका पार्टीहरु बीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमति, जनताको चाहना र नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो ऐतिहासिक कदम भएको ठहर गर्दै हामी त्यसको स्वागत गर्दछौं । यसबाट आगामी निर्वाचनलाई परिणाममूखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने कुरामा पनि हामी विश्वस्त छौं ।
नेपाली जनताले लोकतन्त्र र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि गरेको लामो बलिदानी संघर्ष विशेष गरी महान् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको नयाँ संविधानमा संस्थागत गरिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक समेतका जनअधिकारको संस्थागत विकास गर्न हामी प्रतिबद्ध छौं ।
उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका अग्रगामी अधिकारलाई संस्थागत गर्दै सामाजिक न्याय सहितको समाजवादउन्मुख अर्थराजनीतिको विकासका लागि निरन्तर संघर्ष गर्ने सङ्कल्पसहित विभिन्न समूहमा छरिएर रहेका वामपन्थी कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्ने ऐतिहासिक आवश्यकता महशुस गरेका छौं । राष्ट्रियता, राष्ट्रिय अखण्डता र देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशील, वामपन्थी, देशभक्त गणतान्त्रिक शक्तिहरूलाई वृहत ध्रुवीकरणमा सामेल हुन हार्दिक अपील पनि गर्दछौं ।
मितिः २०७४।०६।२५

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा (माओवादी केन्द्र)
क. गणेश साह
अध्यक्ष
नेकपा (संयुक्त)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ