आत्महत्यालाई रोक्न सकिन्छ : गोपाल ढकाल, मनोविद्

आत्महत्यालाई रोक्न सकिन्छ : गोपाल ढकाल, मनोविद्

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 25.4K
    SHARES

आत्महत्या नेपालमा पनि जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै गएको छ । नेपालमा पनि आत्महत्या गर्नेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ । नेपालमा प्रत्येक दिन सरदर १२ देखि १५ सम्म जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ तर आत्माहत्यालाई पाप र कलङ्कका रूपमा हेरिने भएकाले धेरै यस्ता घटनाहरू गुपचुपमा राखिने हँुदा यो संख्या अझ धेरै हुन सक्ने अनुमान गर्न सकिन्छ । विश्वमा धेरै आत्माहत्या हुने १० ओटा देशहरूमध्ये नेपाल ७ औँ स्थानमा पर्दछ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ ।
यसरी हेर्दा प्रत्येक वर्ष सरदर ८ लाख भन्दा बढी व्यक्तिले आत्माहत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषको आत्माहत्या गर्ने दर झन्डै दुई गुणाले बढी छ तर नेपालको परिपेक्ष्यमा यसको ठीक उल्टो महिलाहरूमा आत्माहत्या गर्ने संख्या बढी छ ।
लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङिगक विभेद, आर्थिक परनिर्भता, दाइजो प्रथा, श्रीमानले सौता ल्याउनु तथा महिलाहरू सुत्केरी भएपछि हुने एक प्रकारको मानसिक रोग÷डिप्रेसन (पोष्टपाटम डिप्रेसन)का कारण नेपालमा महिलाहरूको आत्महत्या गर्ने दर बढी भएको हुन सक्छ । विश्वमा महिलाहरूले बढी आत्महत्या गर्ने देशहरूमा दक्षिण कोरियापछि नेपाल दोस्रोमा पर्दछ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवायुवतीहरू समेत आत्महत्या डरलाग्दो रूपमा बढेर गएको छ । प्रायः सबै मानिसहरू दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । एउटा गीतले भनेझै “मर्ने कसैको रहर हुँदैन” तर पनि किन एउटा व्यक्तिले आत्महत्या गरेर आफ्नो ज्यान÷शरीर आफै समाप्त पार्छ ? यस्तो अवस्थामा पुग्दा पक्कै पनि उसले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको तथा अरु कुनै पनि विकल्पहरू नभेटिएर चरम निरासामा आफूलाई डुबेको पाउँछ वा क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाएको हुन्छ वा अत्याधिक जाँड, रक्सी, लागू पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर भ्रममा परी आफ्नो जीवन समाप्त गर्ने मोडमा पुगेको हुन्छ । आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि अन्य धेरै कारणहरू हुन सक्छन् । तर आत्महत्याको पछाडि ९० देखि ९५ प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ । मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । आत्महत्या गर्ने व्यक्तिलाई नेपालको कानुनले अपराधी ठान्छ । धर्मशास्त्रले पापी भन्छ । समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ । “हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जान्छ र आफ्नो आत्महत्याको सोच निर्णय र विचारमा परिवर्तन आउनु सक्छ, त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ ।
यसै सेरोफेरोमा यस वर्षको विश्व आत्महत्या रोकथाम दिवस २०१७ को नारा पनि “जीवन परिवर्तनका लागि एक मिनेट” भन्ने तय गरिएको छ । संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ” मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन । आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ । (लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी