काठमाडौं ,१० भदौ ।
सरकारले विनासकारी भुकम्प गएको साढे २ वर्ष पुरा हुन लाग्दा समेत १ लाख भन्दा बढी पीडितलाई पुननिर्माणका लागी दिने भनिएको अनुदानको पहिलो किस्ता दिन सकेको छैन ।
लाभग्राहीको सूचीमा परेका ७ लाख ६५ हजार ६ सय १८ जना मध्ये १ लाख ३० हजार ३ सय ४६ जना अझै पनि अनुदानको पहिलो किस्ता पाउनबाट बञ्चित भएका छन् ।
अहिले सम्म ६ लाख ३५ हजार २ सय ७२ जनाले मात्रै अनुदानको पहिलो किस्ता पाएको पुर्न्निर्माण प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।
पुर्न्निर्माण प्राधिकरणको सुस्तता र कर्मचारीको लापरबाहीका कारण पीडितहरु सरकारी राहत अनुदान पाउनबाट बञ्चित भएका हुन् ।
अनुदान पाउन योग्य भएर पनि छुटेका प्रभावितलाई स्थानीय निकायमा गएर सम्पर्क गर्न आग्रह गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनु भयो ।
प्राधिकरण आफैं पीडित समक्ष जान असम्भव रहेको भन्दै भूसालले नयाँ आर्थिक वर्ष शुरु भईसकेको र बजेट पनि आईसकेकाले स्थानीय निकायमा गएर पहिलो किस्ता लिन पीडितलाई आग्रह गर्नुभयो ।
गत फागुनमा दोस्रो चरणको सर्भे पुरा गरेको प्राधिकरणले छुटेका प्रभावितलाई गत चैतदेखि राहत दिन शुरु गरेको थियो । सरकारी राहत अनुदान पाएका कतिपयले समेत घर निर्माण शुरु गरेका छैनन् ।
अहिले सम्म १ लाख १९ हजार हाराहारीमा मात्रै घर निर्माण शुरु भएको प्राधिकरणले जनाएको छ । ६ लाख भन्दा बढी पीडितले पहिलो किस्ताको अनुदान रकम लिएपनि घर निर्माण भने १ लाख १९ हजार हाराहारीमा मात्रै शुरु भएको छ ।
अनुदान लिएका अन्यले सरकारी राहत अनुदानको पैसाले के गर्दैछन् भन्ने अनुगमन नियमन समेत प्राधिकरणले गर्न सकेको छैन ।