काठमाडौ २ भदौ ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि आजदेखि तेस्रो समुह अन्तरगत ३ सय ३२ जना इन्जिनियरलाई खटाइएको छ ।
यसअघि दुई समूह प्रभावित जिल्लामा परिचालन गरिएकामा आजदेखि तेस्रो समूह अन्तरगत काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा छुटेका विवरण संकलनका लागि खटाइएको हो ।
अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिने प्रशिक्षण दिइएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
खटाइएका इन्जिनियरहरुले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजार वटा गुनासा पुनः सर्वेक्षण गर्ने छन् । गुनासा फस्र्योट भएका लाभग्राही तथा प्रवलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा दर्ता भएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रवलीकरण सूचीमा परेको प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
जिपिएस प्रविधिमा आधारित भएर ट्याब्लेट मार्फत गरिने पुनः सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुनेछन् ।
पुनः सर्वेक्षणका लागि दोलखामा २७, गोरखामा २८, नुवाकोटमा १६, रामेछापमा २४, रसुवामा चार, धादिङमा २९, सिन्धुपाल्चोकमा १२, काभ्रेपलाञ्चोकमा ४१ जना इन्जिनियरलाई खटाइएको छ ।
यस्तै ओखलढुंगामा १६, सिन्धुलीमा ६०, मकवानपुरमा ४८, काठमाडौँमा ११, ललितपुरमा ८ र भक्तपुरमा ७ जना इन्जिनियर खटाइएको प्राधिकरणले जनाएको छ । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने लक्ष्य छ ।
गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरबाट आफ्नो भत्केको घरको पुनः सर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट विमुख नहुन प्राधिकरणले अनुरोध गरेको छ ।
गुनासो दर्ता नगराएकाले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् । पीडितको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इञ्जिनियरलाई दिएमा तत्काल सर्वेक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
सर्वेक्षण भएका घरधुरीको असोज मसान्त सम्ममा फर्छयौट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने प्राधिकरणको तयारी छ ।