कुख्यात दोरम्बा हत्याकाण्ड र दोरम्बा नाट्यलेखनको अन्तर्कथा -खेम थपलिया

कुख्यात दोरम्बा हत्याकाण्ड र दोरम्बा नाट्यलेखनको अन्तर्कथा -खेम थपलिया

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

२०६३ सालतिरको कुरा हो, एकदिन मसित भेट गराउन कसैले एकजना नयाँ कमरेडलाई लिएर जलजला मासिकको कार्यालयमा आउनुभयो । झोला भिरेका, होचोहोचो कद एवम् गम्भीर प्रकृतिका हुनुहुँदो रहेछ अम्बिकाप्रसाद गजुरेल कमरेड अनुप । उहाँ कवि, संस्मरणाकार पनि हुनुहुँदो रहेछ । परिचयपछि उहाँले झोलाबाट केही लिखित सामग्री निकाल्दै भन्नुभयो कमरेड मैले एउटा संस्मरण लेखेको छु, जलजलामा छापिदिनुपरयो । मैले सहजै हुन्छ भनिदिएँ ।

केहीबेरको भलाकुसारीपछि उहाँ मबाट बिदा हुनुभयो । पछि मैले कमरेड अनुपले दिनुभएको त्यो संस्मरणलाई टाइप गरेर आवश्यक सम्पादनसहित जलजला मासिक पूर्णाङ्क १३, २०६३, फागुन महिनाको अङ्कमा छापेँ । समयक्रममा मेरा अरू केही नाटक पनि तयार भइसकेका थिए । पछि मित्रहरूले नाट्यपुस्तकको रूप दिन आग्रह गर्नुभयो । मलाई त्यो कुरा ठीकै लाग्यो । त्यसपछि मैले अरू केही नाटक पनि लेखेँ । मलाई लाग्यो प्रतिक्रियावादी सत्ताको हापुरेमा माओवादीसित वार्ताको चलिरहेको समयमा २०६० साल, साउन ३२ गते रामेछाप जिल्लाको दोरम्बामा षड्यन्त्रपूर्वक सामूहिक २१ जना माओवादीका नेता तथा कार्यकर्ताको त्यत्रो बलिदानको विषयमा किन नाटककीरण नगर्ने ! अन्ततः मैले कमरेड अनुपले तयार पार्नुभएको संस्मरणलाई २०६५ साल साउन महिनामा नाटककीकरण गरेँ । यो नाटकका अधिकांश संवाद कमरेड अनुपकै हुन् ।

ऐतिहासिक र सत्य घटनामा आधारित भएकोले पात्र र संवादको मौलिकता एवम् यथार्थलाई जस्ताको तस्तै राखिएको छ । मैले त्यसलाई दृश्यात्मकता, मञ्चनीयता, नाटकीय रूप मात्र दिएर दोरम्बा नाटकको प्रारम्भिक संरचना तयार भएको हो । यो नाटक नागार्जुन एक्सप्रेस नाटकसङ्ग्रहमा सङ्गृहीत छ । यद्यपि अहिले पनि यो नाटकलाई पूर्ण संरचनामा विस्तार गर्ने काम भइरहेको छ ।

अङ्क एक, दृश्य एक

स्थान ग्रामीण परिवेश । समय अपरान्ह । गाउँको पुरानो घर । ठूलो आँगन । एकापट्टि पानीको धारो र अर्कोपट्टि गाईगोठ । तल फाँटमा किसानहरू काममा व्यस्त । रेली आफ्रनो आँगनछेउ गुन्द्रमा बसेर तरकारी केलाउँदै छिन् । उनी घरी घरी के के सम्झेर टोलाउँछिन् पनि । एकैछिनपछि ललिका त्यहाँ आइपुग्छिन् ।

ललिका (अलि सतर्क हुँदै) नमस्ते है दिदी ! रेली दिदी के छ ? आरामै हुनुहुन्छ ?

रेली (गरिरहेको काम छोड्दै) ओ हो ! नमस्कार ललिका बैनी । आज अकस्मात् कताबाट आउनुभयो ? बसौँ न । (गुन्द्रीको एक छेउतिर सङ्केत गर्दै) तपाईंंलाई नदेखेको पनि धेरै भएको थियो । आफ्ना मन मिल्ने मान्छेहरू भेट नहुँदा त कस्तो कस्तो हुने रहेछ बैनी !

ललिका (केही कुरा गोप्य राख्न खोज्दै) नबसौँ दिदी । आज मलाई अलि फुर्सद पनि छैन । आज म अलि हतारमै छु । साथीहरू पनि आइसक्नुभयो होला । मचाहिँ भने अझै यहीँ छु ।

रेली (उत्सुकताका साथ) साथीहरू पनि आउनुभएको छ रे ? बैनी के छ त्यस्तो सबैजना जम्मा हुने काम ? हामीलाई पनि भन्न हुने भए भन्नूस् क्यारे !

ललिका (कुरा लुकाउन खोज्दै) एउटा सानो छलफल हुँदैछ दिदी । हाम्रो एउटा त्यस्तै काम छ छलफलको । त्यसैले ।

रेली (कुरा फुत्काउन खोज्दै) छलफल ! कस्तो छलफल बैनी ? कहाँ हुने हो नि त्यस्तो छलफल बैनी । तपाईंंहरू त विशेष मान्छे । छलफल पनि त विशेषै होला नि हैन ? (दुवै हाँस्छन्)

ललिका (कुरा टुङ्याउन खोज्दै) त्यस्तो केही होइन । त्यस्तो विशेष त हाम्रो के हुन्थ्यो र ! तर पनि एउटा सानो छलफल मात्र हो दिदी । यत्ति हो ।

रेली (कुरा थुत्न थप बल गर्दै) अहिले त युद्धविराम छ नि बैनी । यस्तो बेला केही हुन्न क्यारे ! आखिर हामी पनि त तपाईंंहरूकै शुभचिन्तक हौँ नि । भनिहाल्दा त्यस्तो फरक पर्दैन हो बैनी । किन डराउनुभएको त्यसरी ?

ललिका (उम्कन खोज्दै) हामीले तपाईंंलाई त्यसरी हेरेका छैनौँ । यो अलि फरक किसिमको छ मात्र भन्न खोजेको दिदी । त्यसैले । अन्यथा नलिनुहोला । (हात जोड्दै) लौ त दिदी म अहिले लाग्छु । बाँकी कुरा पछिको भेटमा गरौँला । (ललिका रेली दिदीसँग बिदा भएर आफ्नो गन्तव्यतर्फ लाग्छिन् ।)

रेली (अलि सानो स्वरमा एक्लै) यो ललिका कम्ती बाठी छे ? केही पनि भनिन । पक्कै पनि केही ठूलै कार्यक्रम रहेछ क्यारे ! नत्र किन छलफल गर्नुपरयो ? ओ हो ! (केही सम्झे जस्तो गरेर) डिकबहादुर काकाले मौका पर्नासाथ खबर गर्नू भनेका थिए । ललिकाको यो कुरा कसरी थाहा पाउने होला । ए ! कबहादुरले यसको यथार्थ जानकारी ल्याउन सक्छ किनभने ऊ पनि उनीहरूसित नजिक भएर हिंड्ने मानिस हो । यसको लागि भोलि बिहान त्यतैतिर लाग्नुपर्ला । (रेली तरकारी लिएर घरभित्र पस्छिन् ।)

अङ्क एक, दृश्य दुई

(बिहानको समय । भीमबहादुर भर्खरै शौचालयको काम सिध्याएर धारामा हात मुख धुँदै छ । त्यतिखेरै त्यहाँ रेली आइपुग्छिन् ।)

रेली (हात जोड्दै) नमस्कार है भीमबहादुर दाइ । के गर्न लाग्नुभएको नि ? के छ हालखबर ?

भीमबहादुर (अभिवादन गर्दै) नमस्ते रेली बैनी । म त भर्खरै उठेको पो हो । ओ हो ! तपाईंं त एकाबिहानै आउनुभो त । बरु त्यतै मलाई बोलाउनुभएको भए भैहाल्थ्यो नि । यहाँसम्म किन दुःख गर्नुभएको होला खै ?

रेली (कुरा गर्ने वातावरण बनाउँदै) केही दुःख भएको छैन दाइ । तपाईंंसित केही जरुरी कुरा गर्न आएको नि ।

भीमबहादुर (हातले इशारा गर्दै) भित्रै जाऔँ न त । (दुवैजना घरभित्र पस्छन् । बिहानको उज्यालो घरभित्र राम्ररी नै छिरिसकेको हुन्छ । भीमबहादरु र रेली खाटमा बसेर कुरा गर्न सुरु गर्छन् ।)

रेली (विस्तारै) केही दिनअगाडि मैले तपाईंसित कुरा गरेको थिएँ नि ? हो, त्यो कुराको अहिले चान्स मिल्ला जस्तो छ । डिकबहादुर काकाले पनि मौका पर्ना साथ खबर गर्नू । आवश्यक सरसल्लाह र सहयोग तपाईंंसितै लिनू भन्नुभएको थियो । पैसा पनि मालामाल आउँछ रे ! आखिर तिनीहरू आतङ्ककारी न त हुन् । ललिकाले हिजो मलाई यतै कतै नजिकै त्यस्तो कुनै महत्वपूर्ण जमघट हुने सङ्केत देखाएकी छ । तपाईंंले त्यस्तो कुनै सङ्केत पाउनुभएको छ कि भनेर म तपाईंंलाई भेट्न आएकी हुँ ।

भीमबहादुर (उत्साहित हुँदै) बैनी मैले पनि त केही सङ्केत पाएको छु तर ठाउँ भने पत्ता लागिसकेको छैन । म त्यो ठाउँ पत्ता लगाउन लागिरहेको छु ।

रेली (खुसी हुँदै) हँ । सङ्केत ! कस्तो सङ्केत दाइ ? भन्नूस् न कस्तो सङ्केत ?

भीमबहादुर (अलि डराउँदै) खोइ बैनी ? कतै हाम्रो बारेमा उनीहरूले थाहा पाए भने हाम्रो त सब बर्बाद हुन्छ है । हामो ज्यान पनि जान सक्छ । यस्तो काम धेरै खतरापूर्ण हुन्छ बैनी । मलाई त असाध्यै डर लागिरहेछ ।

रेली (ढाडस दिंदै) धत् ! यसरी पनि डराउने हो । फेरि जे जस्तो परिआए पनि म मिलाइहाल्छु नि । त्यहाँमाथि पनि डिकबहादुर काका हुनुहुन्छ हामीसित । उहाले हाम्रो सबै कुराको सुरक्षा व्यवस्था मिलाउँछु भन्नुभएको छ । ढुक्क भएर भन्नूस् दाइ । क्यै हुँदैन । आखिर पैसा कमाउन त खतरा पनि मोल्नुपरयो नि । हो कि होइन ? भन्नूस् त दाइ ?

भीमबहादुर (डर दबाउँदै) अरू त त्यति थाहा भएन । यही महिनाको अन्त्यतिर यहाँको माओवादी एरिया बैठक बस्ने रे ! त्यसै बैठकमा शुभकार्य हुन्छ भन्थे । केलाई शुभकार्य भनेका हुन् ? त्यो त मलाई थाहा हुने कुरा भएन । त्यो बैठकमा ठूला ठूला नेताहरू आउँछन् रे भन्नेचाहिँ सुनेको हुँ । त्यो पनि मैले उनीहरू बसेको घरबाहिरबाट लुकेर सुनेको ।

रेली (निर्देशनको भावमा) शुभकार्य भनेको विवाह गर्ने भनेको होला क्या दाइ ! (हाँस्दै) तपाईंंको कुराअनुसार त्यो दिन आउन अझै धेरै दिन बाँकी छ । सुन्नूस् दाइ, म सहर गएर डिकबहादुर काकालाई भेट्छु । उहाँले कहाँ कहा कुरा मिलाउनुपर्ने हो, त्यो मिलाउनुहुनेछ । तपाईंंले त्यो बेलासम्म बैठक बस्ने घर पत्ता लगाएर मलाई फोन गर्नुहोला । लौ त दाइ, अब म जान्छु । अब धेरै बेर नबसौँ । फेरि उनीहरूले चाल पाउन सक्छन् । काम अति गोप्य ढङ्गबाट गर्नुहोला है दाइ ? (उठ्दै) लौ त अहिले म लाग्छु । नमस्ते । (दुवैले एकआपसमा नमस्ते गर्दै रेली त्यो घरबाट बाहिरिन्छिन् ।)

अङ्क एक, दृश्य तीन

(पैसाको लोभमा फसेको भीमबहादुर गाउँमा माओवादी खोज्दै जाँदा शिक्षक युवराजको घरमा बैठक बस्ने कुरा थाहा पाउँछ । ऊ खुसीले उफ्रँदै रेलीलाई फोन गर्न थाल्दछ ।)

भीमबहादुर (अलि हडबडाउँदै) हेलो, हेलो । रेली बैनी हो ? को हो ? मैले रेली बैनीलाई खोजेको ।

रेली (फोनमा कुरा गर्दै) हो, दाइ हो । म रेली बैनी बोल्दै छु । दाइ, मैले भनेको काम भयो त ?

भीमबहादुर (यताउति हेर्दै) भयो बैनी भयो । बल्ल पत्ता लगाएँ । बैठक त युवराज मास्टरको घरमा बस्ने रहेछ ।

रेली (खुसी हुँदै) स्यावास दाइ ! तपाईंंले यो काम पूरा गर्नुहुन्छ भन्ने कुरामा मलाई पूरा विश्वास थियो । अब त हाम्रो भाग्य नै खुल्ने भयो नि दाइ । म यहाँ सबै ठाउँमा त्यही मिति र ठाउँको कुरा बताउँछु । फोन गर्दा एकदम गोप्य ढङ्गले कोडभाषामा गर्नुहोला है दाइ । नत्र सब योजना बर्बाद हुन्छ नि !

भीमबहादुर (अलि सानो स्वरमा) हुन्छ बैनी । म गोप्य रूपमै गर्छु नि । म पनि त्यति लाटो त छैन नि बैनी । देख्दा पो लाटो लाटो भएको नि ।(हाँस्दै)

रेली (निर्देशनकै भावमा) अँ दाइ । मैले यहाँ सबै कुरा मिलाइसकेँ । एकदिन अघि सुरक्षाफौज गाल्पा आइपुग्छ । तपाईंंले त्यहाँबाट उहाँहरूलाई दोरम्बासम्म पुग्न सहयोग गर्नुहोला अनि तिनीहरू बसेको ठाउँको राम्रो जानकारी पनि गराउनुहोला । बाँकी सबै काम उहाँहरूले नै गर्नुहुनेछ । तपाईंं र मेरो भेट फेरि फोनमा गरौँला । अहिले राखेँ । हवस् त दाइ । नमस्कार !

भीमबहादुर (उस्तै गरी) नमस्कार ! नमस्कार ! (भीमबहादुर फोनको रिसिभर राख्दछ र बाहिर निस्किन्छ ।)

अङ्क एक, दृश्य चार

(भीमबहादुर त्यो दिनको एकाबिहानै गाल्पा पुग्छ । ऊ पुग्नुअगावै शाहीसेना त्यहाँ पुगिसकेका हुन्छन् । एकछिन त भीमबहादुर र शाहीसेना दुवै सतर्क हुन्छन् ।)

शाहीसेना (कडा स्वरमा) को हो ?

भीमबहादुर (डराउँदै) म म भीमबहादुर सर । हतार हतार आउँदाआउँदै पनि अलि ढिलो भयो ।

शाही सेना (भीमबहादुलाई क्याप्टेन नजिकै पुरयाउँदै) साप ! भीमबहादुर भनेको उहाँ नै हो रे ।

क्याप्टेन (मीठो बोल्दै) ओ ! भीमबहादुर भनेको तपाईंं हो । रेली दिदीले तपाईंंको कुरा गर्नुहुन्थ्यो ।

भीमबहादुर (हात जोड्दै) हो सर ! रेली बैनीले भनेको भीमबहादुर म नै हो सर ।

क्याप्टेन (जिज्ञासा राख्दै) अँ, के छ त ? त्यो हाम्रो सिकारका कुरा ? क्लियर त छ नि भीमबहादुरजी ?

भीमबहादुर (हौसिदै) क्लियर छ सर ! सर अघि बढौँ । हेल्थपोस्टमा गएर बाँकी कुरा गरौँला । हुन्न सर ?

क्याप्टेन (स्वीकारोक्तिको भावमा) हुन्छ हुन्छ । बाँकी योजना उतै गएर बनाऔँला ।

शाहीसेनाको फौज छिटोछिटो अघि बढ्छ । झमझम पानी परिरहेको छ । चारैतिर कुहिरोले ढाकेको छ । कतै देख्न सकिने स्थिति नै हुँदैन । सेनाको टिम दोरम्बा हेल्थपोस्टमा पुग्छ । हेल्थपोस्टमा आइपुगेपछि भीमबहादुर केही स्थानीय मानिसहरूलाई भेटी केही थप जानकारी लिन्छ । त्यति बेला नै बैठकस्थलमा इन्चार्ज ललित, सेक्रेटरी मदन, जिजस प्रमुख बाबुराम तामाङको उपस्थितिमा एरिया बैठक बसिरहेको र सो बैठकको अध्यक्षता ललितले गरिरहनुभएको छ । भित्री घरको सेन्ट्रीमा विवेक र बाहिरी घरको सेन्ट्रीमा उषा रहनुभएको छ ।

भीमबहादुर (गम्भीर हुँदै) सर सर ।

क्याप्टेन (कडा स्वरमा) ल भन्नूस्, भीमबहादुरजी । सिकार कुन घरमा छ ?

भीमबहादुर (देखाउँदै) ऊ त्यो तल पुछारमा छ नि सर, झ्यालमा ग्रिल हालेको । हो, त्यही घरमा छन् सर तिनीहरू । युवराज मास्टरको घर त्यही हो सर ।

क्याप्टेन (जिज्ञासु बन्दै) भीमबहादुरजी तिनीहरूसित के कस्ता र कति जति हतियार होलान् ? तिनीहरूको सुरक्षा व्यवस्था पनि व्यवस्थित नै होला नि । हैन त ?

भीमबहादुर (स्पष्ट पार्दैै) त्यस्तो हतियार त केही देखिँदैन सर । युद्धविराम भनेर मख्ख छन् तिनीहरू । सुरक्षास्थिति पनि त्यति व्यवस्थित छैन सर । म त कार्बाहीको लागि त्यति कठिनाइ देख्दिनँ सर ।

क्याप्टेन (निर्देशनको भावमा) ल ठीक छ । ए, जवान हो ! सुन । एक टोलीले माथिबाट बजार घेरा हाल्ने, एक टोली बीचबाट घेरा हाल्ने र एक टोली सिधै पोइन्टमा घेरा हाल्ने । अति चलाखीमा साथ घेरा बनाउने सेन्ट्रीलाई उम्कन नदिने र पूरै कब्जा गर्ने । तिनीहरू उम्कन खोजे भने बल प्रयोग गर्ने अर्थात् गोली चलाउने । बुझ्यौ ?

जवानहरू (एकैसाथ) बुझ्यौँ साप । हस् साप ।

क्याप्टेनले अघि बढ्ने कासन गर्दछ । सम्पूर्ण शाहीसेना गाउँभरि छापिन्छन् । गाउँ पूरै स्तब्ध हुन्छ । शाहीसेनाद्वारा गाउँ जनसरकारका साथ बाबुराम लामा, ललिका, प्रदिपलगायत नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरिन्छ ।

क्याप्टेन (जवानहरूलाई आदेश दिँदै) यी आतङ्ककारीहरूलाई सबैको हात बाँधी आँखामा पट्टी लगाई दे । एई ! आतङ्ककारीहरू सुनिस् । अब पालैपालो आआफ्नो नाम भन् ।

कमरेडहरू (पालैपालो) बाबुराम, ललिका, प्रदिप ।

क्याप्टेन (रुखो भाषामा) एई ! के हेरेर बसेका छौ ? ठोक् यी सालेहरूलाई । (सबैलाई लछारपछार गर्दै यातना दिन सुरु गरिन्छ ।)

शाहीसेना (कराउँदै) भाग्यो साले । भाग्यो, भाग्यो । समा समा । नछोड् एक न छोड् !

घटनास्थल कोलाहल र भयावहपूर्ण बन्न पुग्छ । त्यस्तो अवस्थामा पनि एघारजना कमरेडहरूले सुरक्षाघेरा तोडी सुरक्षित स्थलतर्फ जान सफल हुन्छन् ।

बाबुराम (निडरताका साथ) यो के बर्बरता हो ? हामीलाई यसो किन गरिन्छ ।

क्याप्टेन (रिसाउँदै) ओ हो के गर्नू त ? हामीले तिमीहरूलाई सलाम गर्नू ? साला थाहा पाउलास् अब के गर्छौ । ए केटा हो ! यिनीहरूलाई छिटोछिटो लिएर हिंड् ।

जवानहरू (स्वीकारोक्ति भावमा) हस् साप । यता आइज । ल हिंड्, किन वाल्ल पर्छस् । अब खालास् ठूलो भाग साला । साला सब माथि जान्छौ ।

शाहीसेनाले कमरेडहरूलाई घिसार्दै डाँडाकटारी भन्ने ठाउँमा ल्याइपुरयाउँछ । त्यहाँ कब्जामा लिइएका कमरेडहरूलाई आत्मसमर्पण गराउने दुष्प्रयत्न अन्ततः असफल हुन्छ ।

अङ्क एक, दृश्य पाच

स्थान डाँडाकटेरी । शाहीसेनाले सबैलाई घेरेर राखेको छ । बन्दी कमरेडहरूको पछाडि लगेर हात बाँधिएको छ । क्याप्टेन सोधखोज गर्न थाल्दछ ।

क्याप्टेन (कडा स्वरमा) ए ! तँ जनसरकार प्रमुख ! कति खाएको छस् जनता ठगेर पैसा ? भन्, तेरो सम्पूर्ण सञ्जालहरू के के छन् ? तेरो प्रचण्ड, बाबुराम, बादल, कञ्चन कहाँ कहाँ बस्छन् ?

बाबुराम (निर्धक्कका साथ) हामी जनता ठगिखाने मानिस होइनौँ । हामी त जनतालाई ठग्नेहरूलाई चाहिँ समाप्त पार्ने मान्छेहरू हौँ । जनताको उद्धार गर्दै देशलाई मुक्त गराउने हौँ हामीहरू । हामी जनताको घर आँगन जहाँ कहीँ पनि बस्न सक्छौँ ।

क्याप्टेन (रिसले चूर हुँदै) उद्धार ! अब गर्लास् उद्धार ! आफू रहे न गर्लास् उद्धार ! नत्र के गर्लास् ?

जवानतर्फ सङ्केत गर्दै) ए केटाहरू ! के हेरेर बसेका छौ ? ठोक् सालेहरूलाई । (शाहीसेनाका जवानहरूले बन्दुकका कुन्दा कमरेडहरूका शरीरभरि बजार्न थाल्छन् ।

ललिता (आक्रोश पोख्दै) ए सैतानहरू हो ! निरङ्कुश बादशाहले खरिदिएका भाडाका खुनी नरभक्षी दानव हो ! हामीलाई गलाउन खोज्छौ ? हामीलाई यातनाबाट झुकाउन खोज्छौ ? आफूलाई मर्द ठान्छौ । कायर लाछीहरू । सक्छौ भने ठोक छातीमा गोली । किन तड्पाउँछौ ? के त्यही तानाशाहीको रक्षाका निम्ति यी सब गरिरहेका छौ । (यातना तीब्र बन्दै जान्छ । दर्दनाक पीडादायक चित्कारहरू पनि थपिंदै जान्छ ।)

क्याप्टेन (कर्डलेस डायल गर्दै) रोजर सर । यहाँ हाम्रो लक्ष्यअनुसारको भयो सर । जिजस प्रमुखलगायत एक्काइसजनालाई गिरफ्तार गरी ल्याइयो सर । एकजनालाई घटनास्थलमै सिध्याइयो सर । एकजना महिलालाई चाहिँ हाम्रा जवानहरूले तृष्णा मेट्न जङ्गलतिर लगेका छन् सर । जम्मा गरी एक्काइसजना हो सर । हामी छिट्टै आउन चाहन्छौँ साप । के गरौँ साप ? सबैलाई सिध्याउने हो साप । यहीँ साप । हस् साप । हामी छिट्टै काम तमाम गरेर फर्कन्छौँ साप ।

जवान १ (रमाउँदै) अब के गर्ने साप ?

क्याप्टेन (जवानहरूलाई कासन गर्दै) ए केटा हो ! सबैलाई लाइनमा राख् । अनि सबैलाई पालैपालो गोली ठोक् ।

सबैलाई भित्तातिर फर्काउँदै लाइन राखेर ललिकाको टाउकोमा सङ्गीनले तेस्र्याउँदै च्याम्बरमा गोली लोड गरिन्छ ।

सबै कमरेडहरू (एकैसाथ) मालेमावाद जिन्दावाद ! महान् जनयुद्ध जिन्दावाद ! (नारा घन्किरहन्छ ।)

गोलीको आवाजसँगै क्रमशः ललिका, रक्तिम, चतुरमान थामी, ठूलाराम, सानोराम, विवेक, शिक्षक युवराज, लिला तामाङ, समिर, सङ्गिता, बिना, ध्यान, पदमराज गिरी, विमला, जमीन, यथार्थ ढल्दै जान्छन् । अनि नाराका आवाजहरू पनि सुस्ताउँदै जान्छ । अन्तिममा बाबुराम मात्र बाँकी रहन्छन् । उनी मालेमावाद जिन्दावाद को नारा लगाइरहन्छन् । उनका हातमा गोलीले छेड्दै अझै आत्मसमर्पण गराउने प्रयत्न हुन्छ । अन्तिममा शाहीसेना हार खाएपछि बाबुरामको भौतिक शरीरलाई समाप्त पारिन्छ । सुन्दर एव् रमणीय डाँडाकटेरी लासैलासको थुप्रो र रगतैरगतको आहालमा परिणत हुन्छ तर पनि आकाशमा मालेमावाद जिन्दावाद को आवाज निकैपरसम्म गुञ्जिरहन्छ ।

अन्तिम पर्दा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी