-अशोक कुँवर ‘नेत्र’
राम बहादुर एक थान आशा
एक थाना रहर सँगालेर
भर्खरै अवतरित भएको छ
राजधानी
अब उसले यहीं कमाउनु छ
डल्लीका निम्ति एक अँजुली
खुसी अनि पुन्टीका निम्ति गोडा चारेक सुख ।
उसलाई ताजै छ घर छाड्नै लाग्दा
आँगनमा उभिएर डल्लीले
खसम विछोडको पीडा
एक्लनुको वह पोखेर
आँखाबाट झारेकी थिइन् बरर
आँसु
पुन्टीले हात समाएर तोते बोलीमा भनेकी थिइन्
“आप्पा ! ङादा झ्याबा क्वान भगाऊ ।”
राम बहादुर जो आफ्ना लागि कहिल्यै बाँचेन
ऊ छिरेको छ राजधानी
खै राजधानीले दिने छ वा
उल्टै खोस्ने छ उसबाट
र पनि ऊ अवतरित भएको छ राजधानी
एक थान आशा एक थान रहर सँगालेर ।
राम बहादुर जसले
महत्त्वाकाङ्क्षी ठुला सपना
कहिल्यै देखेन
पाल्यो त केबल फुटपाथका खुज्रा
पसलका झैं
अनगिन्ती दु:खका अनुभूतिहरू
पन्छाएर तमाम ऐठनहरू
यतिखेर राम बहादुरलाई
एक अँजुली खुसी चाहिएको छ
डल्लीका निम्ति
गोडा चारेक सुख चाहिएको पुन्टीका निम्ति ।