‘नेपालको पूर्वदेखि पश्चिमसम्म सबै नाका जोड्ने सडक बनाउन चीन तयार !

‘नेपालको पूर्वदेखि पश्चिमसम्म सबै नाका जोड्ने सडक बनाउन चीन तयार !

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं , १६ साउन ।

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन् । यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ ।’

चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन् । ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए । चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको पहल गर्ने जानकारी दिएको ओलीले बताए ।

द्विपक्षीय हित र सरोकारकेन्द्रित भेटवार्तामा तिब्बती पक्षले सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया दिएको ओलीको भनाइ थियो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रतिनिधि र तिब्बत कम्युनिस्ट पार्टीका उच्च अधिकारीले आफूलाई वर्तमान प्रधानमन्त्रीसरहको सम्मान गर्दै नेपालको आर्थिक विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता पाएको जानकारी ओलीले दिए ।

साउन २२ गते ल्हासा प्रस्थान गरेका ओलीलाई त्यहाँको सरकारले राजकीय सम्मान दिँदै भोलिपल्ट सिगात्से लगेको थियो । त्यस अवसरमा ओलीको सिगात्से, केरुङ, रसुवागढी, काठमाडौं हुँदै लुम्बिनीसम्म रेल्वे जोड्ने योजना सफल गराउने दृढतालाई अझै बल पुर्‍याउने गरी वार्ता भएको ओलीले जानकारी दिए ।

ओलीलाई चिनियाँ पक्षले उनी प्रधानमन्त्री हुँदा भएका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउने कार्य अघि नबढेकोमा गुनासो गरेको थियो । एमाले सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले चिनियाँ पक्षले ती सहमति र सम्झौता कार्यान्वयनबाट बढीभन्दा बढी लाभ लिन आग्रह गरेको जानकारी ओलीले दिएको बताए । उनले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘रेल्वे मार्ग, सडक निर्माणमा ठूलो चासो दिनुभयो । त्यसबाट चीनलाई भन्दा नेपाललाई नै बढी लाभ हुन्छ । नेपाल सरकारले यस्ता कुरामा चासो दिनुपर्‍यो ।’

आफूले चिनियाँ पक्षलाई यसबारे अघि बढ्न सरकारलाई घच्घच्याउने बचन दिएको ओलीले बताए ।
ओलीले ल्हासाबाट काठमाडौं फर्किने बेला तातोपानी-कोदारी नाकाको समस्या राख्दै त्यसलाई चाँडोभन्दा चाँडो खोल्न चिनियाँ पक्षसँग प्रस्ताव गरेका थिए । ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘चीनले यसका लागि पनि नेपाल सरकारले माग गर्नुपर्ने धारणा राख्यो ।’-अन्नपूर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी