आगामी हिउँद पनि उज्यालै हुने , यस्तो छ प्राधिकरणको तयारी

आगामी हिउँद पनि उज्यालै हुने , यस्तो छ प्राधिकरणको तयारी

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं ,११ साउन । 

विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् ।

भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । यी दुई प्रसारण लाइनबाट आउने बिजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट बिजुली आयात हुने अधिकारीले जानकारी दिए । ‘निर्माण सम्पन्न भएर पनि भाउ तय नभएका कारण यी लाइन (कुसाहा र रक्सौल) बाट थप बिजुली आयात भएको छैन’, अधिकारीले मंगलबार अन्नपूर्णसित भने, ‘व्यापारिक तवरमा आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा बिजुली आयात गर्न सहज हुनेछ ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विद्युत्मन्त्री पीयूष गोयललाई भेटी नेपाल-भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को बैठक राखी थप आयात हुने बिजुलीको भाउ तय गर्न आग्रह गरेका थिए । उपाध्यायको आग्रह स्वीकार गर्दै भारतीय विद्युत्मन्त्री गोयलले सम्बद्ध भारतीय अधिकारीलाई निर्देशन दिएपछि बैठक बस्न लागेको हो । नयाँदिल्लीस्थित नेपाली दूतावासले यही साउन ४ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाई बैठक बस्न लागेको अवगत गराएको छ ।
‘भारतीय विद्युत्मन्त्री गोयलले एक साताभित्र पीईसीको बैठक बसी खरिद-बिक्री मूल्य पुनरवलोकन गर्न निर्देशन दिएको जानकारी नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयबाट पाइयो’, अधिकारीले भने, ‘नेपाली पक्षले पनि सोहीअनुसार भारतीय पक्षसँग बैठकका लागि समन्वय गरिरहेको छ।’

यसअघि १४ फेब्रुअरी २०१७ मा काठमाडौंमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएसटी) को बैठकले कुसाहा-कटैया र रक्सौल-परावानीपुर १३२ केभी प्रसारण लाइनबाट कारोबार हुने बिजुलीको व्यापारिक सर्त तय गर्न निर्देशन दिएको थियो । तीन महिनाअघि प्राधिकरण र भारतीय अधिकारबीच नयाँदिल्लीमा यस सम्बन्धमा छलफल भए पनि सहमति हुन सकेको थिएन ।
अधिकारीका अनुसार पीईसीको बैठक यसै साता बस्ने अपेक्षा गरिए पनि भारतीय पक्षसित छलफल गर्दा उसले चाँडो मिति तय गरिने जानकारी दिएको छ । हाल नेपालले विभिन्न नाकाबाट भारतीय बिजुली आयात गरिरहेको छ ।

सन् २०११ देखि पीईसीको बैठक बसेको छैन । पछिल्लोपटक सन् २०११ मा भएको उक्त बैठकले ‘आगामी सन् २०१३ सम्ममा बैठक बस्ने र उक्त बैठक नबसुन्जेल नेपालले आयात गर्ने बिजुलीको मोलमा वार्षिक ५.५ प्रतिशत मूल्यवृद्धि हुने’ सहमति भएको थियो ।
नेपालले १३२ केभी प्रसारण लाइनबाट बिजुली आयात गर्दा ५० मेगावाटसम्म प्रतियुनिट ५.६२ (भारु), ५० मेगावाटभन्दा माथि ५.५५ (भारु) र ३३ केभीमा प्रतियुनिट ६.०८ (भारु) मा बिजुली आयात गरिरहेको छ ।

नेपालले पटक-पटक पीईसीको बैठकका लागि प्रयास गरे पनि भारतीय पक्षले वास्ता गरेको थिएन । बैठक बस्न नसक्दा विभिन्न भारतीय नाकाबाट आयात हुने बिजुलीको भाउ पुनरवलोकन हुन पाएको छैन । बैठक नबसेकै कारण सन् २०१७ को जनवरीमा सम्पन्न कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने बिजुली अनिश्चित बनेको थियो । ‘अब बैठक चाँडो हुनेछ, बैठकले प्राधिकरणको पक्षमा बिजुलीको दररेट तय गर्नेछ र यसले प्राधिकरणको वित्तीय अवस्थामा सकारात्मक प्रभाव पार्नेछ’, अधिकारीले भने ।

डिसेम्बरभित्र ढल्केबरस्थित २२० केभीको सवस्टेसन निर्माण कार्य चाइना सेन्ट्र पावर ग्रीड (सीसीपीजी) ले सम्पन्न गर्ने लक्ष्य थियो । उसैले ठेक्का लिएका भरतपुर-बर्दघाट २०० केभीको प्रसारण लाइन निर्माण कार्य गर्न नसकी प्राधिकरणले ठेक्का रद्द गरेका कारण ढल्केबरमा काम गर्न छाडेको थियो । यसले गर्दा डिसेम्बरभित्र उक्त सवस्टेसन पूरा हुन नसकी नेपाललाई चाहिने थप बिजुली आयात गर्न समस्या पर्ने भएकाले प्राधिकरण चिन्तित थियो ।

उक्त सवस्टेसन निर्माणपश्चात् थप ६० मेगावाट बिजुली आयात गर्न सकिन्छ, जसले नेपालको हिउँदयामको बढ्दो माग पूरा गर्न केही मद्दत गर्न सक्थ्यो । उक्त सीमापार प्रसारण लाइनबाट एक सय ६० मेगावाट बिजुली ल्याउने सम्झौता भए पनि सवस्टेसन भएकाले हाल सय मेगावाट मात्र आयात भइरहेको छ । ‘तर अब नेपाललाई आगामी हिउँदमा बिजुली आपूर्तिको खासै समस्या हुनेछैन’ अधिकारीले भने ।

उनका अनुसार आगामी हिउँदमा गत वर्षको भन्दा दुई सय मेगावाट बिजुली थप माग हुनेछ । गत वर्ष १३ सय मेगावाटसम्म उच्चतम माग थियो । कुसाहा र रक्सौल लाइनबाट सय, धनगढी-पालिया (भारत) बाट १०, टनकपुरको ट्रान्सफरमर सुदृढीकरणबाट ४०, स्वदेशका निजी क्षेत्रबाट हिउँदयाममा ५०, प्राधिकरणको चमेलियाबाट ३० (पिकिङ) गरी आगामी हिउँदको पिक लोड धान्न सकिनेछ ।

‘अबको हिउँदमा स्वदेशका निजी क्षेत्रबाट एक सय ५० मेगावाट प्रणालीमा आउँदै छन्’, अधिकारीले भने, ‘तिनले हिउँदमा एकतिहाइ उत्पादन गरे पनि ५० मेगावाट हुनेछ ।’ यसबाट उपत्यकालगायत देशका प्रमुख स्थानका गार्हस्थ उपभोक्ताका लागि लोडसेडिङ नहुने र उद्योगमा बढीमा आठ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेषण छ ।

हिउँदमा थपिने बिजुली
– कुसाहा र रक्सौलबाट सय मेगावाट
– धनगढी-पालिया बाट १० मेगावाट
– टनकपुरको ट्रान्सफरमर सुदृढीकरणबाट ४० मेगावाट
– स्वदेशका निजी क्षेत्रबाट हिउँदयाममा ५० मेगावाट
– चमेलियाबाट ३० मेगावाट
– निजी क्षेत्रबाट १५० मेगावाट
– १३२ केभीका दुई प्रसारण लाइनबाट ५०-५० मेगावाट
– गत वर्ष १३ सय मेगावाट माग
– यो वर्षको हिउँदमा दुई सय मेगावाट बिजुली थप माग हुने

-अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी