काठमाडौं, असार २९।
व्यवस्थापिका संसदको लेखा समितिले एनसेलबाट करबापतको बाँकी रकम तत्काल लिन सरकारलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ ।
समितिको आज बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आजियाटा र टेलिया सोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, पुँजीगत खर्च बढाउन र असारे विकास रोक्न पनि समितिले निर्देशन दिएको छ । समितिले वैदेशिक भ्रमण धेरै भएकाले भ्रमणको विवरण पेश गर्न प्रधानमन्त्रीको कार्यालय र अर्थलाई निर्देशन समेत दिएको छ ।
बैठकमा अधिकांश सांसदले एनसेलबाट बाँकी कर असुल गर्न माग गरेका थिए । सांसद रामहरी खतिवडाले नेता र कर्मचारीको मिलेमतोमा छुट दिने तयारी भएको आरोप लगाउनु भएको छ । समितिमा १२ जना सांसदले नै एनसेलसँग कर उठाउन माग गरेका थिए ।