गेजुवासँगको सम्झौता रद्ध गर्न नयाँ शक्तिको माग , प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गेजुवासँगको सम्झौता रद्ध गर्न नयाँ शक्तिको माग , प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, असार २८ ।

नयाँ शक्ति नेपालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवालाई दिने निर्णयको विरोध गर्दै समझदारी तुरुन्त खारेज गर्न माग गरेको छ ।

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटि मुलुकलाई दीर्घकालीन असर पर्ने गरी उर्जा मन्त्रालयले गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग गरेको सम्झौता खारेज गर्न माग गरेको हो ।

भट्टराईले आज देउवालाई बुझाएको ज्ञापनपत्रमा त्रिशुली ३ ए , चिलिमे जलविद्युत आयोजना लागयतका बिभिन्न आयोजना निर्माण नगरी हिडेको तथा करछली जस्तो गैरकानूनी काम गर्ने कम्पनीसँग गैरकानूनी समझदारी गर्ने व्यक्तिहरुलाई नेपालको कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न पनि माग गरिएको छ ।

अन्तर्रा्ष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य तुरुन्त शुरु अगर्न पनि आग्रह गरिएको छ ।

अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउन सहयोग लिएर स्वदेशी लगानीमा नै उक्त आयोजना निर्माण गर्नुपर्ने पनि बिज्ञप्तीमा जनाईएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरबको आयोजना बुढीगण्डकी जलविद्युत परियोजना सरकारको प्रमुखतामा परेकाले यसबाट नेपाललाई हानि हुनेगरी कुनै प्रकारका निर्णय नगरिने बताउनु भएको टोलीमा सहभागीले जनाएका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा अघिल्लो सरकारले चिनिया कम्पनी गेजुवालाइ दिने निर्णय गरेको थियो ।

सोहि क्रममा भट्टराईले निर्वाचन ऐन संशोधन गरेर नयाँ दलहरुलाई चुनाव चिन्ह दिने वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।
यस्तो छ बाबुरामले देउवालाई बुझाएको ज्ञापनपत्र 

श्री सम्माननीय प्रधानमन्त्री
प्रधानमन्त्रीको कार्यालय
सिंहदरवार, काठमाडौं ।
विषय: बुढीगण्डकी जलविद्युत आयोजना सम्वन्धी ज्ञापनपत्र
विश्वका सबैजसो मुलुकमा औद्योगीकरणको शुरुको चरणमा सडक, एयरपोर्ट, विद्युत उत्पादन जस्ता आधारभूत ठूला पूर्वाधारहरुको निर्माण राज्यद्वारा गरिएको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय अनुभवले देखाउँदछ । काठमाडौं, पोखरा, चितवनजस्ता विजुली प्रशस्त खपत हुने स्थानहरुबाट नजिक, पहुँचमार्ग र प्रशारण लाइन पुगेको एवं वार्षिक रुपमा राम्रो उर्जा उत्पादन भई मुलुकको उर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने जस्ता विशेषताहरु भएकाले डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास समिति मार्फत निर्माण गर्ने निर्णय गरेको थियो । यस समिति मार्फत गरिएको अध्ययनले यस आयोजनाको जडित क्षमता १२०० मेगावाट र वार्षिक रुपमा ४२५० गिगावाट आवर अर्थात ४२५ करोड यूनिट बिजुली उत्पादन गर्न सकिने कुरा देखाएको छ । यस आयोजनालाई सम्पन्न गर्न २ खर्ब ६० अर्ब नेपाली रुपियाँ लाग्ने अनुमान गरिएको छ । आयोजना क्षेत्रमा पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्न जाने भएकोले यो ठाउँ मुलुककै मूख्य पर्यटकीय गन्तव्य बन्नुको साथै नेपालको २४ जिल्ला भएर जाने पुष्पलाल मध्यपहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्म तथा उत्तर र दक्षिण सडकले चीन र भारतसँग जोड्ने भएकाले बुढीगण्डकी कोरिडोरलाई मुलुककै एक गतिशील आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने वस्तुगत सम्भावना छ । डिटेल डिजाइन र टेन्डर डकुमेण्ट समेत तयारी अवस्थामा रहेको नेपालको एक मात्र आयोजनालाई यथाशीघ्र अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर निर्माणमा जानु पर्नेमा मिति २०७४/०२/१० मा तत्कालीन सरकारले मन्त्रीपरिषदबाट राजीनामा दिँदै गर्दा हतारमा गैरकानूनी प्रक्रियाबाट चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग गरेको समझदारीले आयोजनामाथि गम्भीर कुठाराघात हुन गएको छ । यसर्थ सरकारसँग यस सम्बन्धमा नयाँ शक्ति पार्टीको निम्न मागहरू रहेका छन्:
समझदारीका सम्बन्धमा
१. राजनीतिक रुपमा अनैतिक, गैरकानूनी, राष्ट्रिय स्वाभिमान विपरीत, प्राविधिक रुपले गलत तथा आर्थिक–सामाजिक दृष्टिकोणबाट मुलुकलाई दीर्घकालीन असर पर्ने गरी उर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग गरेको समझदारी तुरुन्त खारेज गरियोस् ।
२. ६० मे.वा.को त्रिशुली ३ए को कार्य समयमा सम्पन्न नगर्ने, चिलिमे जलविद्युत आयोजनाको निर्माण कार्य गर्न नसकेर ठेक्का तोडी धरौटी रकम जफत गरिएको, माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा कालोसूचीमा परेको, ३० मे.वा.को चमेलिया जलविद्युत आयोजना निर्माण गर्न १० वर्ष भन्दा बढी समय मात्र लगाएको होइन एक अर्ब १६ करोड करछली जस्तो गैरकानूनी काम गर्ने कम्पनीसँग गैरकानूनी समझदारी गर्ने व्यक्तिहरुलाई नेपालको कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।
निर्माणका सम्बन्धमा
३. अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य तुरुन्त शुरु गरियोस् ।
४. यो आयोजना नेपाल सरकारको लगानी, मुलुकभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक पर्ने भएमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउने ऋण समेत लिएर नेपालीद्वारा नै निर्माण गरियोस् ।
 
संस्थागत संरचना र समग्र विकासका सम्बन्धमा
५. यस आयोजनालाई वहुउद्देश्यीय जलस्रोत विकास आयोजनामा रुपान्तरण गरियोस् ।
६. बुढीगण्डकी कोरिडोरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्न प्रथम चरणमा बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिलाई निरन्तरता दिने र दोस्रो चरणमा यसलाई स्तरोन्नति गरी बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण बनाइने व्यवस्था गरियोस् ।
७. बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण अन्तर्गत रहने गरी एउटा कम्पनी र ४ वटा निर्देशनालयहरु बनाएर निम्नानुसारका कार्यहरु गरियोस:
(क) बुढीगण्डकी जलविद्युत आयोजना विकास कम्पनी मार्फत बुढीगण्डकी नदीमा १२०० मे.वा.को जलाशययुक्त जलविद्युत आयोजना निर्माण एवं सञ्चालन गर्ने, त्रिशुली र बुढीगण्डकी नदीमा निर्माण गर्न सकिने जलविद्युत आयोजनाहरुको पहिचान, विकास र व्यवस्थापनको काम गर्ने ।
(ख) बुढीगण्डकी कोरिडोर पर्यटन विकास निर्देशनालय मार्फत बुढीगण्डकी कोरिडोरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने ।
(ग) बुढीगण्डकी कोरिडोर बस्ती एवं पूर्वाधार विकास निर्देशनालय मार्फत जलाशयको वरिपरि आधुनिक वस्ती विकास गर्ने, बुढीगण्डकी जलाशय र यसको वरिपरि आवश्यक यातायात सञ्जाल बनाउने, बुढीगण्डकी कोरिडोरमा बसोवास गर्ने नागरिकहरुका लागि चाहिने भौतिक तथा सामाजिक पूर्वाधारहरुको विकास गर्ने ।
(घ) बुढीगण्डकी कोरिडोर आर्थिक विकास निर्देशनालय मार्फत यसले बुढीगण्डकी कोरिडोरमा हुनसक्ने र गर्न सकिने आर्थिक विकासका कार्यहरु गर्ने ।
(ङ) जलस्रोत एवं जलाधार विकास निर्देशनालय मार्फत सिँचाइ, माछापालन, एकीकृत जलाधार क्षेत्र विकासका कामहरु गर्ने ।
संचित पानीका सम्बन्धमा
८. यस आयोजनाबाट बन्ने जलाशयमा हुने संचित पानीलाई यथासम्भव मुलुकभित्र नै सिँचाइ, खानेपानी, तल्ला तटहरुमा अन्य जलविद्युत उत्पादन केन्द्रहरुको निर्माण, मनोरञ्जन तथा औद्योगिक प्रयोजनमा ल्याउने व्यवस्था गरियोस् ।
९. जलाशयमा हुने पानी संचितीकरणले तल्लो तटीय मुलुकहरु (खासगरी भारत)मा वर्षायाममा बाढी आउन नदिन सहयोग पुर्यासउने र हिउँदको सुख्खायाममा विभिन्न प्रयोजनको लागि आवश्यक पर्ने पानी बढाइदिने हुनाले अन्तर्राष्ट्रिय प्रचलन एवं मापदन्ड अनुरुप नेपालले पाउने लाभांश सम्बन्धी कुटनैतिक संवादको थालनी गरियोस् ।
पुनर्वास र पुनस्र्थापनाका सम्बन्धमा
१०. आवश्यक कर्मचारी र रकमको विशेष व्यवस्था गरी पुनर्वास र पुनस्र्थापनाको कार्यलाई प्राथमिकताकासाथ अघि बढाइयोस् ।
११. आयोजनाका लागि अधिग्रहण गर्नुपर्ने जग्गाहरू (खहरे, आरूघाट र आर्खेत क्षेत्रका डुवानमा पर्ने जग्गाहरूस पुनर्वास गराइने जग्गा र रिङरोडको लागि चाहिने जग्गा) अधिग्रहण गर्ने कार्य तुरुन्त प्रारम्भ गरियोस् ।
१२. मुआब्जा समितिबाट गरिएको मुआब्जामा पुनरावलोकन गरी, मुआब्जा न्यायोचित नभएका ठाउँहरुका जनतालाई उचित मुआब्जा दिने ब्यवस्था मिलाइयोस् ।
१३. गोरखा र धादिङ्गका मुआब्जा समितिले मुआब्जा तथा पुनर्वास, पुनस्र्थापना सम्बन्धी सिफारिस गरेका विषयहरुको यथाशीघ्र सम्बोधन गरियोस् ।
नेपालको विकास र नेपालीको समृद्धिको लागि बुढीगण्डकी आयोजना यथाशीघ्र नेपाली पूँजीबाट निर्माण गरी अगाडि बढाउनु आजको राष्ट्रको आवश्यकता भएकाले माथि प्रस्तुत गरिएका मागहरु यथाशीघ्र सम्बोधन गर्न नयाँ शक्ति पार्टी नेपाल, नेपाल सरकारसँग अनुरोध गर्दछ । यो वा त्यो वहानामा यसलाई ढिलो गर्ने वा निर्माण हुन नदिने काम हुन गएमा हाम्रो पार्टी त्यस विरुद्धमा कठोर कदम चाल्न बाध्य हुनेछ भन्ने कुरा पनि यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छ ।
धन्यवाद ।
–––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी