काठमाण्डौ ,२२ असार । उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो । तर, मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए ।
प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जिपिएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत संकलन गर्नेछ । सँगै, ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । केन्द्रले सोही सूचनाका आधारमा तुरुन्तै अपरेट गर्नेछ ।
विद्युत् प्राधिकरण प्रवक्ता प्रबल अधिकारीका अनुसार मेलम्ची खानेपानीले भत्काएको सडकबाट उपत्यकावासी आजित छन् । प्राधिकरणले फेरि त्यस्तै गर्ने हो कि भन्ने पर्न सक्छ । तर, प्राधिकरणले मूल सडक भत्काउँदैन, सडकपेटी मात्रै भत्काएर काम हुन्छ । प्रसारण लाइन भूमिगत गर्ने काम नेपालमै पहिलोपटक हुँदै छ । यो अत्यन्त जटिल र प्राविधिक विषय हो ।
उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक छन् । पहिलो चरणमा २५ प्रतिशत प्रसारण लाइन भूमिगत गरिनेछ । जसअनुसार ९० हजार ग्राहकका घरमा जोडिने विद्युत् लाइन भूमिगत हुनेछ । एक वर्षभित्र प्राधिकरणले यो काम सम्पन्न गर्ने योजना बनाएको छ । ‘उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार मिटर वितरित छन् । त्यसमध्ये ९० हजार मिटर भूमिगत हुनेछन्,’ प्रवक्ता अधिकारीले भने । पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् । यो योजना सफल भएपछि मात्रै प्राधिकरणले अन्य क्षेत्रको प्रसारण लाइन भूमिगत गर्नेछ ।
रत्नपार्क र महाराजगन्जको विद्युत् लाइन भूमिगत गर्न अन्तर्राष्ट्रिय प्रविधि अपनाउने प्राधिकरणले जनाएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने अन्तिम तयारी प्राधिकरणले गरेको छ । प्रतिस्पर्धामा अब्बल देखिएका अन्तर्राष्ट्रिय कम्पनी छनोट गरी काम अघि बढाइने प्रवक्ता अधिकारीले बताए । ‘प्राधिकरणले गर्न लागेको यो काम नेपालमै पहिलो हो । त्यसैले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न लागिएको हो । त्यसमा जो अब्बल ठहरिन्छ, उसैलाई काम दिन्छौँ,’ उनले भने ।-नयाँपत्रिका दैनिकबाट