सप्तरी, १८ असार । शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् ।
बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन ।
कोसीको भंगालोमा इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो ।
उक्त वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन् । एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए । मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ । बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।
यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन् । स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले बताउनुभयो ।
गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सँदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उहाँको भनाइ छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेको जानकारी पनि दिनुभयो । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५०० परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । उहाँले बाढीबाट जोगाउन ठाउँठाउँमा अस्थायी बाँध बनाउने काममा प्रहरी खटिएको जानकारी दिनुभयो । उहाँ आफैँ पनि आज बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई सुरक्षित स्थानमा सार्ने काममा व्यस्त देखिनुहुन्थ्यो । उहाँले स्रोतसाधनले भ्याएसम्म बाढीबाट हुने सम्भावित क्षति रोक्न आवश्यक सबै पहल थालिएको जनाउनुभयो ।
यता, जिल्लाको रुपनी गाउँपालिकाका बासिन्दाले यथाशीघ्र आफूहरुलाई सुरक्षित र भयमुक्त वातावरण बनाउन प्रशासनसँग माग गर्दै रुपनी–राजविराज सडकखण्ड अवरुद्ध पारेका छन् । वर्षायाममा प्रत्येक वर्ष बाढीका कारण ठूलो क्षति ब्यहोर्नुपर्दा पनि प्रशासनले दीर्घकालीन समाधान खोज्न नसकेकाले विरोधस्वरुप चक्काजाम गरिएको स्थानीयको भनाइ छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बाढीपीडित परिवारलाई स्थानीय स्तरबाट तात्कालका लागि राहत व्यवस्था मिलाइएको बताउनु भयाे । उहाँले मयनाकरेडी त्रिकौलका ३ सय र मलेठमा २ सय ५० परिवारलाई जिल्ला समन्वय समितिले भुजा र च्युरा वितरण गरेको बताउाुनु धयाे । प्रजिअ कटुवालकै नेतृत्वमा स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख द्विवेदी, सशस्त्र प्रहरी प्रमुख रामाधार यादव, नेपाली सेनाका कर्नेल डम्बर बोहोरालगायतले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । विभिन्न स्थानमा एकैसाथ बाढी आएपछि शनिबार बिहानैदेखि स्थानीय इकाई र जिप्रकाबाट थप प्रहरी परिचालन गरी ५ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको एसपी द्विवेदीले जानकारी दिनुभयाे ।
दर्जन स्थानमा कटान
खाडो र महुली खोलाको बाढीले दर्जन स्थानमा कटान गरेको छ । डमुरी शिवथानमा खाडो खोला बस्तीतर्फ सोझिएको छ । रायपुर र मलेठमा पनि तटबन्ध क्षतिग्रस्त बनाउँदै खाडो खोला बस्ती छिरेको स्थानीय दिनेश यादवले जनाउनु भयाे । खाडो खोलाको पूर्वी तटबन्धअन्तर्गत तोपामा बाँधको आधा भाग बाढीले कटान गरेको पूर्ववडाध्यक्ष सत्यनारायण यादवले बताउनु भयाे । ‘न स्लोपिङ बनाएको छ न त बाँधमाथि घाँस नै लगाइएको छ,’ पूर्ववडाध्यक्ष सत्यनारायणले भन्ननुभयाे, ‘बाँधछेउबाट नै खाडोको बालुवा झिकेर बनाइएको बालुवाको बाँध बाढीका अगाडि कति समय टिक्ला ?’
यस्तै खाडो खोलाअन्तर्गत नै लौनियाका ३ स्थानमा कटान लागेको छ । स्थानीय गजेन्द्र मण्डलका अनुसार शनिबार बिहान अत्यधिक बाढी आउँदा बाँधमाथि ओभरफ्लो भई पानी बस्ती र खेतीयोग्य जग्गामा पसेको थियो । पानीको बहाव दिउँसो केही कम भएपछि बस्तीमा पानी कम भएको उनले बताए । यस्तै तिलाठीमा नयाँ बाँध निर्माण नभएको र पुराना बाँध भत्काउँदै बाढी बस्ती पसेको तिलाठीका पूर्वगाविस अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिनुभयाे । खाडो खोलाको पूर्वी र पश्चिमी तटबन्धअन्तर्गत यस वर्ष निर्माण भएको बाँध बालुवाको मात्र भएकाले सामान्य बाढी आउँदा पनि कटान लाग्ने अवस्थाको रहेको स्थानीयहरूले बताएका छन् ।
