‘कमरेडहरू, मलाई माफ गर्नु है !
गरिबका दिन नल्याई फर्कन्न भनेर छड्केधुरीमा ढुङ्गा मन्साएर जनयुद्धमा हिँडेकी थिएँ, गरिखाम्ला कि मरिजाम्ला भन्ने कसम खाएर ।
तर अहिले ?
आफ्नै वाचाको मलामी बनी गाउँ फर्केर कसरी मुख देखाम्ला ? भन्नु त कमरेड ?
कमरेड मलाई माफ गर्नु !
क्रान्ति उधारो भयो, जस्तो मेरो अन्तर्जातीय प्रेमबिहे ।
सहिद, बेपत्ता र घाइतेका रहर यसपालि पनि कुर्सीसित साटिए ।
म त इमानदार मगर चेली । क्रान्तिमा पनि, प्रेममा पनि ।
कमरेड, मलाई माफ गर्नु है ? हामीले देखेको सपना र क्रान्तिप्रति आज घात भए नि कुनै दिन यसलाई पूरा गर्न कोही त आउलान् ।
ती कमरेड र पार्टीलाई शुभकामना ! मैले त कुर्न सकिनँ ।
… कमरेड मलाई माफ गर्नु !
’ (पेज २२९(३०, सङिनी, द्वन्दोत्तर कथा, रोल्पा सुइना)
साहित्यको बारेमा एउटा प्रचलित कथन छ, ‘साहित्य समाजको ऐना हो ।’ मिरर रिफ्लेक्टस् आवर इमेज्स बट, इट क्याननट ब्युटीफाइ आवर इमेज । ‘मुहारको दाग जाँदैन पुछेर ऐनामा’ भनेजस्तै । कलामा, मानिस आफूलाई उसको आफ्नो वरिपरिको वातावरण र अस्तित्वसँग जोड्ने अथवा साक्षात्कार गर्ने प्रयत्न गर्दछ । एउटा क्रुर र विसंगत संसारमा, सिन्धुमा विन्दु नै सही, थोरै नै सही शान्ति एवं संगतिका खातिर कला हरदम संघर्षरत हुन्छ । कला ‘कुरूपतामा सुन्दरता पूरा भरिदिन्छ, सुन्दरतामा सुन्दरता थप गरिदिन्छ ।’ येल युनिभर्सिटीका क्लियन्थ ब्रुक्सले भनेजस्तैः ‘कविता (कला) को भाषा विरोधाभासको भाषा हो ।’ केदारमान व्यथितको ‘शौचालय र भोजनालयको अर्थ’ पनि सम्भवतः त्यही हो । माओले भनेजस्तैः ‘युद्ध भनेको रक्तपातयुक्त साहित्य हो । र, साहित्य रक्तपातमुक्त युद्ध ।’
‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ ।’ निरंकुश तानाशाही व्यवस्थाको हेजिमोनीले गर्दा क्रान्तिको विकल्प हुँदैन । अ रिभोलुसन इज नट अ स्टेपवाइज इभोलुसनस इट इज अबाउट अ ड्रास्टिक चेन्ज । सतही रूपमा नै सही भन्नुपर्दा, वि.सं. २०४६ सालको क्रान्तिको परिणाम (निरन्तरता ?) वि.सं. २०५२ साल फाल्गुन १ गते हो, वि.सं. २०६२ र ६३ को द्वितीय जनआन्दोलन हो । किनकी, प्रत्येक क्रियाको प्रतिक्रिया भएजस्तै प्रत्येक क्रान्तिको प्रतिक्रान्ति हुन्छ । प्रत्येक क्रान्तिको अभिशाप भनेको एउटा तानाशाही व्यवस्था हो । सबै क्रान्तिपश्चात् एउटा नयाँ, नौलो र नवीन ब्युरोक्रेसीको उदय हुन्छ । क्रान्तिको निशाना, टार्गेट जरा ‘रूट’ हुनुपर्छ, न कि हाँगा ‘शुट’, यदि त्यसो हुन सकेन भने क्रान्ति फलदायी ‘फ्रुटफूल’ बन्न सक्दैन ।फलस्वरूप, ‘रोल्पा सुइना’भित्रको एक भाग ‘द्वन्दोत्तर कथा’मा समावेश एक कथा ‘सङिनी’की मितिनीले जुलियस फ्यूचिकको आत्मपरक निबन्ध (पुस्तक ‘रिपोर्ट फ्रम द ग्यालोज’ (नेपाली रुपान्तर : ‘झुन्ड्याउँदा झुन्ड्याउँदै’) को डेथ (सेन्टेन्सजस्तै ‘सुसाइड नोट’ लेख्न पुग्नेछे, जुन यस्तो छः “साथीहरू ! म तपाईंहरूलाई धेरै प्रेम गर्छु, कृपया होसियार रहनुहोला ।“
१. नेपाली साहित्यमा वि.सं. २०७३ साल फाल्गुन १ गते एउटा उल्लेखनीय दिन मान्न सकिन्छ । ‘आफूसित राक्माधुरीमा बिदाइका हात हल्लाइरहेका रोल्पाली लोकगीतलाई ‘बरै’ अल्बममार्फत् गला दिने जेई दिलसरी र बाबै स्व. दलबहादुर पुनलाई’ समर्पण गरिएको एक पुस्तक प्रकाशन भएको एक दिन । ल ठीक छ, यो मिति त कमैलाई थाहा होला तर पुष्पकमल दाहाल ज्यू ! ‘फाल्गुन १’ तपाईंको स्मृतिमा नै छ अहिलेसम्म ? अथवा, ‘स्टिल सी हन्ट्स् मी फ्यान्टमवाइज, एलिस मुभिङ अन्डर स्काइज, नेभर सीन बाइ वेकिङ आइज’ भइसकेको छ ? तपाईंले नवीन विभासद्वारा रचित आख्यान ‘रोल्पा सुइना’को अध्ययन गर्नुभयो ? कि, बिर्सनुभयो रोल्पा, जनयुद्ध, प्रचण्डपथ आँधी आदि इत्यादि ? कृष्ण सेन ‘इच्छुक’लाई, आफ्नै टाउकाको मोलकर्तालाई बिर्सनुभयो र मिलाउनुभयो शेरबहादुर देउवासँग काँध ?एउटा जनपथले तपाईंलाई प्रचण्ड बनाएको हो, र नाम दिएको हो, प्रचण्डपथ । हिजो प्रचण्डपथ जिन्दावाद भनिएको थियो, प्रचण्ड जिन्दावाद भनिएको थिएन ।अब त तपाईं आफ्नै त्यो जनपथबाटै चिप्लिएर गएपछि प्रचण्डको अस्तित्व अब कहाँ रह्यो ? अहिलेलाई भन्नुपर्ने कुरा यतिमात्र हो, तपाईंलाई तर्साउने एउटा पुस्तक प्रकाशन भएको छ ।
‘हो त,’ उनले भनेकी थिइन्, ‘महिला नेता कमरेडबाट मेडम भए । पुरुष नेता कमरेडबाट सर । सरका पनि सर ती हेड सरका के कुरा ! कार्यकर्ता ? कमारा–कमारी भए ।’ (पेज २२८, सङिनी, उही)
‘कमरेड जेनी ?’ ‘कमरेड’ शब्द सुन्नेबित्तिकै पत्नी फन्कँदै पुगिन् र भनिन्, ‘कम्रेटसम्रेट’ भनेको मलाई मन पर्दैन के, ’म्याडम’ भन्सियोस् ।’ पत्नीले यति भन्दा नाक, कान र छातीमा झुलेका सुनका गहना हल्लिरहेका थिए । साना काँटीखा नेतापत्नीसमेत ‘म्याडम’ भइसकेको बेला शर्माको मुखबाट कसरी कमरेड शब्द खुस्क्यो, कुन्नि ? आफैं छक्क परे । खासमा उनी कार्ल मार्क्स र पत्नीचाहिँ माक्र्सपत्नी जेनी बन्न पत्नीको नाउँ ‘जनयुद्ध’ कालमा कमरेड जेनी राखेका हुन् । कुरामा त अहिले पनि दम्पती नै माक्र्स र जेनी थिए । ‘नखाइसियोस्, बरू फिल्म हेर्न जाम् ।’ ‘हो र ?’ शर्माको लर्बरिएको बोली झर्यो, ‘भेज कि नन्भेज ?’ (पेज १३७, छलाङ, उही )
उबेलाका ‘कमरेड’ अहिले ‘कम रेड’ भइसकेका छन्, ‘सर, म्याडम’ भइसकेका छन् । एउटा हिन्दी सिनेमा ‘हजारों ख्वाहिंसो ऐसी’को प्रमुख चरित्रजस्तै उनीहरूले क्रान्तिलाई लिएर रोमान्टिक दिवास्वप्न मात्रै देखेका हुन् ? उनीहरूले उठाएका मुद्दाहरू अहिले कुन डस्टबिनमा मिल्क्याइएका छन् ? लेनिन भन्दछन् ‘नारीलाई गहनाको दासी बनाउने सुनलाई समाजवादमा चर्पी बनाउने काममा उपयोगमा लगाइनेछ । किनकी, सुनमा खिया लाग्दैन ।’ लेनिनको यो नारा दिने सर, म्याडम नै अब चर्पीमा रुपान्तरण भएका हुन् ? ‘सिनो पनि सुन्दर देखिन्छ । बस्, हेर्ने नजर गिद्धको हुनुपर्छ रे ।’ उनीहरूले अब क्रान्तिलाई सिनो तुल्याएका हुन् ?
(मलाई सुन्नमा आएको, नारायणकाजी श्रेष्ठको गुट पार्टीभित्र ‘भेज’ भनेर चिनिन्छ । (माओवादी कसरी ‘भेज’ हुन सक्छन्, उनीहरू त ‘नन्भेज’ पो हुनुपर्ने हैन र ?) किनकी, उनीहरू प्रत्यक्ष युद्धमा सामेल भएनन, मान्छे काटेनन्, गाई काटेनन्, मासु खाएनन्, रगत बगाएनन् । उनीहरू भन्थेः ‘रिभोलुसन सुड नट इम्प्लाइ भ्वायोलेन्स, डि फ्याक्टोस अ ब्लडलेस रिभोलुसन इज अ साइन अफ सिभिलाइजेसन ।’ क्रान्तिकारी गीत गाउँदै चाहिँ हिँडे । उनीहरू नेता थिए, पछि पार्टीमा भाग पाए । जनताका धेरै लडाकु छोराछोरी अनमिनद्वारा अयोग्य घोषित गराइए । यो त ‘तिम्रो छोरा र मेरो छोरा मिलेर हाम्रो छोरालाई कुटिरहेछन्’ भन्ने चुट्किलाभन्दा बढ्ता भयो !)
२. ‘… कालो कोट, प्याजी रङको पाइन्ट, कालो चस्मामा ठाँटिएका नरेशजंग राजा । अनुहारमा रक्सी फुलेका बाउसा’ब घोडाबाट ओर्लन्छन् । (गर्मी याम सुरू भएपछि यसरी नै खलंगा आउँछन् बाउसा’बहरू काठमाडौँ, बर्दिया या नेपालगन्जबाट ।) ‘कहिले सवारी होइसियो ?’ (लालीकी आमाले सोध्छिन् ।) वरपर नजर डुलाइरहेका बाउसा’बले उत्तर नै नदिई सोध्छन्, ‘लाली खै ?’ (उनले नुहाउन कोटखोला गएको बताउँछिन् ।) बोली भुइँमा नझर्दै बाउसा’ब घोडा चढ्छन् । (केही समयपछि लाली रुँदै घर आउँछे । त्यसबेलासम्म दिलको खसमलाई साँचेको जोवन बाउसा’बले लुटिसकेका हुन्छन् । लाली आमाको छातीमा छाँद हालेर रुन थाल्छे । बाउसा’बले जसरी अहिले लालीको जोवन लुटे, कुनै समय उसकी आमाको जोवन पनि उसैगरी लुटेका थिए ।उनीहरू एकापसमा टाँसिएर लामो समय रोइरहन्छन् । रुवाइको हिक्कासँगै लालीको बोली झर्छ । तर, अपुरो । लालीको अपुरो वाक्य नै बुझ्नलाई काफी भइदिन्छ । (निदाएको बेलामा समेत टिमुरको काँडाझैँ बिझिरहने लालीको प्रश्नको जवाफ भक्कानोसँगै झर्छ, ‘तिनै राजा हुन् तेरा बा !’) बदलाभावले सायद ऊ छापामार बन्छे । कथाको सार भनिरहनै परेन, माओवादी विद्रोह अकारण भएको थिएन ।) (पेज ११(१९, बैँस, द्वन्द्वकथा, उही)
माओवादी द्वन्द्वसम्बन्धी लेखनलाई विशुद्ध भक्तिधारा र विरुद्ध भक्तिधारा गरी दुई खण्डमा विभाजन गर्न सकिन्छ । एउटा, माओवादी आन्दोलनमा सहभागी कमान्डरहरूलगायतले सिर्जना गरेका छन् । उनीहरूले आन्दोलनको भक्ति(प्रशस्ति गाएका छन्, त्यसभित्रको अन्धकार पाटोदेखि मुख मोडेका छन् । ऋषिराज बराल, पूर्णविराम लगायतको टोली यसभित्र राख्न सकिन्छ । (कृष्ण सेन ‘इच्छुक’लाई ‘क्लासिक’ मान्न सकिन्छ । ‘पहेँलो सूर्य’ उपन्यास पनि झुर लेखन हो । आन्विका गिरीको ‘मान्छेको रङ’ दुर्बल छ । तारा राईको ‘छापामार युवतीको डायरी’ त्यो अधुरो प्लस अपुरो छ ।) अर्को, माओवादी आन्दोलनका जानी(दुस्मन मिडियाले फैलाएका सूचना अथवा जिल्ला सदरमुकासम्म पुगेर सिर्जना गरिएका कृति(कुरीतिहरू देखा पर्दछन् । उनीहरूले माओवादी आन्दोलनको मूल मर्मलाई नबुझेर, आत्मसात् नगरेर बरू त्यसको धज्जी उडाएर कृति हैन, विकृति तयार पारेको देख्न सकिन्छ ।महेशविक्रम शाहको ‘छापामारको छोरो’, पूण्यप्रसाद प्रसाईको ‘छापामार’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, गोविन्दराज भट्टराईका ‘सुकरातका पाइला’, ‘सुकरातको डायरी’, कृष्ण अविरलको ‘जल्लादको मन’ लगायत कृति–विकृतिहरू यस क्याटेगोरीमा राख्न सकिन्छ । (गोविन्द वर्तमानको ‘सोह्र साँझहरू’ केही थोरै अपवादभित्र खडा गर्न सकिन्छ । मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ पनि गहिराइमा पुगेको कृति हैन ।) माओवादी आन्दोलनसम्बन्धी अहिलेसम्म कुनै गतिलो चलचित्र पनि आएको छैन । नवल खड्काको ‘आवाज’, ‘जलजला’, ‘लालसलाम’, लगायत विशुद्ध भक्तिधाराका हुन्, जुन हेर्न नालायक छन् । मदन घिमिरेको ‘आगो’, दीपकराज गिरीको ‘वडा नम्बर छ’ एवं खगेन्द्र लामिछानेको ‘टलकजंग भर्सेस टुल्के’ ले पनि माओवादी आन्दोलनको मर्मलाई समेटेको छैन । पछिल्लो चरणमा आएको मीनबहादुर भामको ‘कालो पोथी’ले त ‘जनयुद्ध’लाई ‘तथाकथित’ भनिदिएको छ । यस प्लस यश हिसाबले कुनै दुईमत नहुने किसिमले भन्नुपर्दा, जनयुद्धमा आधारित अहिलेसम्मकै गतिलो सिर्जना (आख्यान) भनेको नवीन विभासद्वारा सिर्जित ‘रोल्पा सुइना’ हो ।
‘रोल्पा सुइना’ माओवादी द्वन्द्व र त्यसभित्र समावेश व्यापक आयामहरूसँग सुपरिचित फस्र्ट ह्यान्ड एक्सपेरियन्स सिर्जना हो, न कि बिकारिएस (भीखारीयस सेकेन्ड ह्यान्ड क्रियसन । यो माओवादी द्वन्द्वसम्बन्धी लेखनमा हावी विशुद्ध भक्तिधारा एवं विरुद्ध भक्तिधारा दुबैबाट मुक्त छ । यो एउटा तटस्थ वार एण्ड कन्फ्लिक्ट राइटिङ हो । जुन वस्तुपरक लाग्छ । नवीन विभासले ’रोल्पा सुइना’भित्र समावेश कथाहरू कुनै पार्टीको कार्यकर्ता भएर लेखेका छैनन् । यो कृति उनको आफ्नो कालखण्डको, समय र परिवेशको ’द्रष्टा दृष्टि ः स्रष्टा सृष्टि’ हो ।
३. सशस्त्र द्वन्द्वको संकटकालीन अवस्था । रोल्पाली (रुकुमेलीहरूलाई सहर पस्न निषेध । किनकि, रोल्पा–रुकुम आतंककारी गढ मानिन्थ्यो । ०४८ सालको आमनिर्वाचनमा रोल्पाबाट निर्वाचित बर्मन बुढाको ज्वाइँको हत्याको कारण सायद यही थियो । माओवादी त माओवादी भइगए । गैरमाओवादीहरूसमेतले सहरलाई आफ्नो भन्नु अपराधसरह, धरापसरह । तत्कालीन सरकारी कर्मचारी राजसंस्था स्वीकार गर्नेहरूलाई समेत सन्देहको नजरले हेर्थे । ‘के भनम्ला रातदिन आने बन्नुकलई ? न बन्नुकले मेरो आँसु देख्च न म रोएको सुन्च । न बन्नुकको कान छ न आँखा । … छकालबेल्का बन्नुक आएर ‘बन’को भन्च । काँ जाम् म ?’ (पेज ८५, धरा, द्वन्द्वकथा, उही)
‘धरा’ कथाकी पात्र राज्यको रातदिनको प्रताडना सहन नसकेर आफ्नो धरा (पटुकी) को पासो लगाएर मर्न खोज्छिन् । तर, धरा यति फाटिसकेको हुन्छ कि पासो हाल्दाहाल्दै चुँडिन पुग्छ । ‘धरा’ गरिबीको प्रतीक हो, भुइँमान्छेको पीडाको मार्मिक चित्रण हो । गाँसेको धरा फेरि चुँडिएला भनी बिस्तारै खोक्नुपर्ने । के गर्नु ? खोकी लागिरहन्छ । छिमेकी आएर उनलाई सम्झाउँछन् । ‘वरपर हेरेर मन बुझाउ । हेर, हामी पनि तमीजस्तै भाइ मारिएका, छोरा मारिएका, लोग्ने मारिएका… को छ र सग्लो यो गाउँमा ? छाम, कसको आँखा छ नभिजेको ?’ (पेज ८५, धरा, उही)
‘रोल्पा सुइना’को अर्को सशक्त पक्ष भनेको यही आञ्चलिकता हो । शंकर कोइरालाको ‘खैरिनीघाट’ उपन्यासपश्चात् नेपाली साहित्यमा भित्रिएको आञ्चलिकता नयनराज पाण्डेको ‘उलार’, ‘लू’, बुद्धिसागरको ‘कर्नाली ब्लुज’, राजन मुकारुङको ‘हेत्छाकुप्पा’, ‘दमिनी भीर’ हुँदै नवीन विभासको यस कृतिसम्म आइपुग्दा केही गर्व गर्न लायक बनेको छ । हाम्रा समय, स्थान र परिवेशका धेरै कुरा ‘भर्जिन’ छन्, सिमान्तकृत छन् । नवीन विभासले आफ्नो समयको त्यस कथा भन्नलाई रोल्पाको स्थानीय लवजलाई आत्मसात् गरेका छन्, हृदयङ्गम गरेका छन्, ‘बरै’ एल्बमका गीति अंश समेटेका छन् । ‘वान गुड थिङ्ग अबाउट म्युजिक, ह्वेन इट हिट्स यु, यु फील नो पेन । द राइटर्स पेन ह्याज रिटन पेनफूल लेटर्स इन द फर्म अफ फिक्सनल म्युजिका ।’ रोल्पाली स्थानीय लवजलाई आफ्ना कथाहरूमार्फत् जीवन्त तुल्याएका छन् कथाकारले, र सम्पूर्ण नेपाली साहित्यमा एउटा नौलोपन दिएका छन् ।उनले कुनै तथाकथित कुरा कल्पेका छैनन् । हुन त, अब माओवादी ‘हुरी चराको गीत’ बिस्तारै(बिस्तारै विस्मृतिको गर्तमा एकसे–एक सर्तमा मलीन हुँदै गइरहेछ, विलीन हुँदै गइरहेछ, तल्लीन हुँदै गइरहेछ । तर, हो त्यही, सप्पैको सम्पन्न मानसपटलबाट दरिद्र हुँदै गइरहेको माओवादी(वेदको वेदनाको बललाई, राज्य पक्षबाट व्यहोर्नुपरेको पीडा, ज्यादतीको तलबितललाई, द्वन्द्वरत पक्षको सपनाको पसललाई, ओझेलमा पर्दै गएका विषयवस्तुका भूमिगत जललाई नवीन विभासका छोटा–छोटा वाक्य संरचनामा रचित करेन्ट किस्साहरुहरुमा पुनर्जीवन प्रदान गरिएको पाइनेछ ।
‘रोल्पा सुइना’को उल्लेखनीय कुरा के हो भने, रोल्पा भनेर एउटा सानो निश्चित भूगोललाई इङ्गित गर्न कदापि खोजिएको होइन । माओवादी द्वन्द्वको भूकम्पताका रोल्पा ‘इपिसेन्टर’का रूपमा रह्यो, यसलाई त्यसैको विम्ब मान्न सकिन्छ । रोल्पा–रुकुमको भौगोलिक विकटता–विषमता एवं राज्य पक्षले गरेको उपेक्षाको उत्पीडनको खाडलमा जाकिएका, माओवादी द्वन्द्वको पृष्ठभूमिमा यसबाट उत्पन्न सास्ती झेलेर द्वन्द्वरत पक्षले देखाएको क्रान्ति र समृद्धिको सुइनाका खातिर ज–जसले आफ्नो ज्यान जोखिममा राखे, त कतिले आफ्नो प्रिय जीवन नै बलिदान गरे, उनीहरूकै सुइना हो, ‘रोल्पा सुइना’को कहानी । भलै, अहिले खन्याइएको छ ती सुइनामाथि चिसो–चिसो अति दूषित विषालु पानी । निभा शाहको ‘मनसरा’को आगो निभाउन खोजिएको छ सदा–सदालाई ।
४. ‘… राइफल, ड्राइफुड र युद्धसामग्री ठिक्क पारिरहेका चिङकाङ ।
सन्नाटा तोड्दै स्टेचर सुम्सुम्याएर भनेका थिए, ‘यो स्टेचरमा आफैं पो आउँछु कि !’ … छिटोछिटो छामेँ, चिङकाङ त चिसिएका थिए ।
‘कमरेड आगो !’ हेरेँ, अपार स्ट्रेचर लिएर उभिएका थिए । ‘कमरेड अपार !’ मैले भनेँ । तीन–चारजनाले बोक्यौँ ।
खाल्डो खनेको ठाउँसम्म लग्यौँ । ‘किन यति गह्रौं लाग्यो हँ ?’
‘कमरेड चिङकाङलाई होइन, सहिद चिङकाङलाई बोकेका छौँ नि त ।’ खाल्डा कति खनिएका थिए त कति खनिदै । सतगत त गर्नु थियो ।
खाल्डामा राख्दा छेउमै बम खस्यो । बमले दुईचार जनालाई गाड्न मिल्ने खाल्डो बनायो । तर कमरेडहरूले खनेको खाल्डोमा उनलाई सुताएर झन्डा ओढायौँ । कहाँ समय थियो र पर्याप्त हामीसित, आफ्नै कमरेडलाई बिदा गर्न पनि ।’ (पेज ३३, सनिस, द्वन्द्वकथा, उही)
‘सनिस’ (सन्देश) कथामा मृत्युपूर्व अथवा सहादतपूर्व दुर्गे उर्फ कमरेड चिङकाङले आफ्नी आमालाई एउटा पत्र लेखेको छ । कथाको प्रथम पुरुष सहयोद्धा न्यारेटरको, उसको पत्र पढेर जिउ थरर काँप्छ । चिठी गह्रौं लाग्छ, राइफलभन्दा पनि । उनीहरूले मार्क्स, लेनिन, माओका भनाइ राखेर चिठी लेख्दै आएका थिए । तर, यो चिठीमा कम्युनिस्ट ‘जार्गन’ नै थिएनन् । उक्त पत्रमा आमाप्रति एउटा असल छोराको माया, संवेदना एवं प्यारभरी आग्रह पो थियो, सट्टामा बरू ।
‘सनिस’ (सन्देश) कथामा मृत्युपूर्व अथवा सहादतपूर्व दुर्गे उर्फ कमरेड चिङकाङले आफ्नी आमालाई एउटा पत्र लेखेको छ । कथाको प्रथम पुरुष सहयोद्धा न्यारेटरको, उसको पत्र पढेर जिउ थरर काँप्छ । चिठी गह्रौं लाग्छ, राइफलभन्दा पनि । उनीहरूले मार्क्स, लेनिन, माओका भनाइ राखेर चिठी लेख्दै आएका थिए । तर, यो चिठीमा कम्युनिस्ट ‘जार्गन’ नै थिएनन् । उक्त पत्रमा आमाप्रति एउटा असल छोराको माया, संवेदना एवं प्यारभरी आग्रह पो थियो, सट्टामा बरू ।
राजतन्त्रको ठाउँमा गणतन्त्र छ । राजाको ठाममा राष्ट्रपति–पतीत एवं प्रधानपञ्चमन्त्री, हिन्दु राष्ट्रको बदला धर्म्निरपेक्ष । ज्ञानेन्द्रको स्थानमा प्रचण्ड आएका छन्, कोमलको ठाउँमा विद्यादेवी भण्डारीले प्रवेश गरेकी छिन् । वीरेन्द्र शाहीको निबन्ध ‘मार्क्स हराएको सूचना’ जस्तै । परिवर्तनको ‘कुखुरी काँ’ले बासी भात खाइरहेछ । ‘नइय फल’की आशपुरा आमाले नयाँ व्यवस्थाको फल चाखेर मर्ने सुइना अझै रगताम्मे छ, बेवारिसे लम्पसार छ ।
जनतालाई रुपान्तरणको महसुस नै छैन । ‘हिउँद लाग्नेबित्तिकै कालापार जाने र दसैंमा फर्कने गाउँको संस्कृति तन्केर अरब पुग्दै थियो, अझै छ ।’ ‘कारण कालापार जाने बाध्यता यसअघि पनि थियो । फरक यति थियो कि यसपालि रोल्पालीलाई कालापार खेद्ने ‘आतंक’ पनि थपियो ।’ (पेज ११९, कालापारे (२ : द्वन्द्वकथा उही) समय पुनः बाध्यतामा पुगेको छ । नत्र पछिल्लो चरणमा आएर नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘कसले बनायो दाजै उडीजाने बस’ जस्तो मार्मिक गीत किन रचे ? समयले घाउ दिएको छ । किनकि, जस्तो कि भनिएको छ, त्यसैले घडीमा काँटा हुन्छन्, फूल हुँदैनन् । ‘गाउँ (३ : मलामी’ कथाअनुसार, गाउँका तन्नेरी कति साउदी उडेका छन् त कति कालापार गुडेका । गाउँमा कोही मर्दा पनि अर्थीको काँध थाप्ने युवाको दर्दभरी अभाव छ ।‘कालापारे–२ : बास’ युद्धले विस्थापित रोल्पाली जनजीवनको कथा हो । किनकि, युद्धले बनपाखा, ढुङ्गामाटो रातै बनाएको छ । न खोल्साखोल्सी खाली छन्, न त पानी पिउन लायक । मानिस पनि चराचुरुङ्गीजस्तै मारिएका छन् । तिनका नाममा न रून मिल्छ न मलाम जान । कमसेकम कालापारमा रून त पाइएला ? घाउ लाग्दा जति पीडा हुन्छ, ऐया भन्न नपाउँदा त्यसभन्दा बढ्ता पीडा हुन्छ । रून नपाए पनि आफ्नै माटो त छ । तर कालापारमा ? तर, फेरि अर्को चेतना बोल्छ ।
‘हाम्रा जोई हुँदाहुँदै हामी पो राँरा (विदुर) को जिन्दगी जियौँ । हामी पोई हुँदाहुँदै हाम्रा जोईले राँरी (विधुवा) का जिन्दगी जिए । हामी बाआमा नमर्दै हाम्रा छोराछोरीले तोकेतोकिना (टुहुराटुहुरी) का जिन्दगी जिए, … हामीले जिएजस्तो जिन्दगी जिएका कोही सर(म्याडम भए अहिल्यै कान काटेर गुमा गार्छु । … सर र मेडमहरूसित पो (हिजो हामीलाई सररमेडमले भनेको) ‘बुर्जुवा’ राजनीति गर्ने पैसा छ । ‘बुर्जुवा’ डिग्री छ । हामीसित के छ ? दिन्छु भनेको ‘वार भेट्रान’ त दिनुभएन । स्कुले झोला स्कुलमै फालेर जनयुद्धमा हिँडेका हामीले न पढ्न पायौँ न बढ्न । देखाइदिनुस् त ‘बासी समाज’मा हाम्ले टेक्ने कहाँनेर हो ? … (आक्रोशित उनी एकाएक भावुक भए । उनको बोलीमा आक्रोश मिसिएको थियो या आँसु ? छुट्याउन गाह्रो थियो ।) हामीले पो गुमायौँ र माया लाग्छ क्रान्तिको, त्यागको, समर्पणको । हरिबिजोग पारिएका सहिद र बेपत्ता परिवारको, घाइते र इमानदार कार्यकर्ताको ।’ (पेज ११५–५६, फोटो, द्वन्द्वोत्तर र कथा, उही)
५. ‘रोल्पा सुइना’का ‘द्वन्द्वकथा’, ‘द्वन्द्वोत्तर कथा’ र ‘कथा विविध’ मा विभाजन गरिएका तीन खण्डका क्रमशः पन्ध्र, तेह्र र नौ वटा संवेदनशील र चिन्तनीय कथाहरूमा एक किसिमको चुम्बकीय–चुम्बनीय क्षमता छ जसले हामीलाई विशेषगरी रोल्पा–रुकुम सेरोफेरो, धरातलबाट मानवजीवनका दैनन्दिनीका सहानुभूति, सरलता, सरसता, स्पष्ट अभिव्यक्ति, मानवीय स्नेह र स्थानीय भोगाइ, माओवादी आन्दोलनको प्रादुर्भाव, विकास, चरमावस्था, युद्ध–विभीषिका, उत्सर्ग, अवसानले निम्त्याएका जटिलताका गाँठाहरू र पार्टी शक्ति र सत्ता प्रवेशपश्चात् त्यसको दुरुपयोगसँग परिचित गराउँदछन् । ‘मस्तबहादुर, आफैँ सुप्रिम कमाण्डर भएको सेना कब्जा गर्न रातारात हिजो लडेको सेना पठाएर जात्रा देखाए । पहिले सामन्तको जग्गा कब्जा गर्न भने । पछि तिनै सामन्तसित घाँटी जोडे । र, फिर्ता गराउन पुलिस लगाए ।’ (पेज १६९, अफलाइन कमरेड, द्वन्द्वोत्तर कथा, उही)
‘जुगरीजुलुस’ दाङ र भुरान (बर्दिया) को ऐतिहासिक पृष्ठभूमिमा भूमिपति जमिनदारको शोषण र अत्याचारबाट प्रताडित भूमिपुत्र र भूमिपुत्री थारूको ’बुझ्नेको व्यथा नबुझ्नेलाई कथा’ हो । साहिर लुधियानवीको ‘ताजमहल’ कविताको झल्को पनि यसमा ल्याउन सकिन्छ । ‘गोन्या’ (गुन्यु) कथामा जमिनदारबाट बलात्कृत थारू महिला ‘फूलमानी’को चित्रण छ । राज्यको अदालत र जनअदालतको सन्दर्भ आउँछ । वकिल पनि उही जिम्दार । प्रजातन्त्र पनि उहीँ जिम्दार । नेता पनि उही जिम्दार जता हेरे पनि जिम्दारै जिम्दार कहाँ जाने फूलमानी ? राज्यका कुनै पनि अङ्गमा फूलमानीका आफन्त थिएनन् । तर, जब कानुन गलत हुन्छ, न्याय कानुनभन्दा अगावै आउँछ । ‘औल्याल ! हाम्रो फोटो नखिच’ कथामा कर्णालीकी ‘सउरी’ पात्रमार्फत् विकासका नाममा एनजीओरआईएनजीओले गरेका कामसमेतलाई लिएर, खाद्य वितरण भण्डारभित्र हुने राजनैतिक चलखेलसहितलाई लिएर कसिलो व्यङ्ग्य कसिएको छ । यी तीन कथालाई मात्र हेर्ने हो भने आख्यानकार नवीन विभासको नेपाली बहुसंस्कृतिको गतिलो ज्ञानसमेत देख्न सकिन्छ ।
देवकोटाको ‘छोटो किस्सा’लाई आत्मसात् गरेर भन्दा ‘रोल्पा सुइना’ अपरिहार्य रोल्पाली भाषिक टोनमा माओवादी द्वन्द्व बुझ्ने आँखीझ्याल हो । उदाहरणका लागि, ‘बाटो’ कथामा ‘बाटो’को माने नेपाली भाषाको ‘पथरसडकरमार्ग’ होइन, बरू ‘कात्रो’ हो । प्रस्तुत कथामा आर्थिक अभावले ग्रसित मनतोला आफ्नो सेउरे (मरेको मान्छे) पतिको लागि ‘बाटो’ खोज्दैछिन् । रोल्पाली जनजीवनको काजकिरियाको चित्रण गरिएको कथामा ‘आर्थिक हैसियत बाटोमा तौलने’ कुराको प्रसङ्ग पनि उठाइएको छ । मृतक ‘जति धनी त्यति लामो कात्रो’ भन्ने चलन थियो । पश्चिमेली रोल्पाली संस्कृतिलाई सुन्दर तरिकाले आख्यान ‘रोल्पा सुइना’ले प्रस्तुत गर्न सकेको छ । त्यस भेगको चालचलन, रहनसहन, भेषभूषा, भाषाशैली एवं गीतसंगीतलाई दुरुस्त उतार्न सफल भएको छ ।दिवंगतका नाममा चौपारी निर्माण गर्नु, उकालीमा बटुवाको प्यास मेट्न घैँटोमा पानी राख्नु संस्कृति हुन्, रोल्पालीका । सहिदका नाममा त्यस्ता कति चौपारी निर्माण गरिएका होलान् त्यहाँ ? राज्य मौन छ । ‘चौपारी–१’ कथाकी पात्र आफ्नी छोरीको नाममा बनाइएको चौपारीमा थचक्क बस्छिन् अनि राक्सेबाङतिर हेर्दै भन्छिन्, ‘जाने बेला किन हो दि अस् चन्र (मुहार) स्यानो उज्जर (कम उज्यालो) थिन । बाजो लखिनी (केटीरछोरी) नफर्कने रै’च र !’
००० ‘अजम्मरी तिमी सहिदको रगतबाट जन्मेका हौ’ (पेज ३७, कम्युन, द्वन्द्वकथा, उही)
रोल्पा सुइना’ माओवादी आन्दोलनको सम्बन्धमा सिर्जना गरिएको अहिलेसम्मकै उत्कृष्ट आख्यान हो । एउटा सुन्दर आञ्चलिक छटामा रचना गरिएको कृति हो । एउटा टिपिकल आख्यानमा जस्तो यसमा कल्पनाको भरपूर उपयोग भएको छैन । यद्यपी याे एउटा वस्तुपरक लेखनको सही नमुना हो । किनकि, वस्तुनिष्ठ तवरबाट लेख्न व्यक्ति स्वयम् आत्मपरक रूपमा ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क’ तवरमा सिर्जनाको फाउन्टेन–माउन्टेनमा पुगेको हुन्छ । नवीन विभासको फस्र्ट रेट एक्सपेरियन्समा रचित कृति हो यो ।
एक दशक भन्दा लामो अवधिदेखि पत्रकारितामा द्वन्द्व र राजनीतिक ‘बिट’मा रिपोर्टिङ गरेका नवीन विभास संयुक्त राष्ट्र संघको राजनीतिक मामिला विभागमा समेत काम गरेका स्वतन्त्र अनुसन्धाता पनि हुन् । उनको आख्यानमा कल्पनाभन्दा पनि सत्य भेटिन्छ । कृत्रिम शैली, अथवा भनौँ कलात्मक शैलीको केही अभाव चाहिँ पक्कै छ पुस्तकमा । आख्यानको पुस्तक जसरी लेखिनुपथ्र्यो, त्यसरी लेख्न सकिएको छैन । आञ्चलिक भाषाशैलीको भरमार प्रयोगले त्यो भूगोलइतरका पाठकलाई पठनमा अवश्य नै कठिनाइ त हुनेछ, तर पठन जति कठिन हु्छ, पुस्तकबाट त्यति नै अत्यधिक आनन्द आर्जन गर्न सकिन्छ । माक्र्स र लेनिनले आफ्ना विचारधारा अवलम्बन गरेर सिर्जना गरेका उतिबेलाका समकालीन साहित्यलाई कमजोर भनिदिएका छन् । किनकि, ती साहित्यमा कलाको सख्त अभाव देखे उनीहरूले । सट्टामा अनरे द बाल्जाक, भिक्टर ह्युगोजस्ता लेखकको कलालाई प्रशंसा गरे । ‘रोल्पा सुइना’ यसको कलाको लागि हैन, सत्य प्रस्तुतिका लागि सुपरिचित हुनेछ । जस्तो कि भनिएको छ, सौन्दर्य नै सत्य हो, सत्य नै सौन्दर्य ।
‘आवर स्वीटेस्ट सङ्स आर दोज द्याट टेल आवर स्याडेस्ट थट्स ।’ डायमनशमशेरका ‘वसन्ती’, ‘सेतो बाघ’लगायत, श्रीकृष्ण श्रेष्ठको ‘जङ्गबहादुर’लगायत शासक–केन्द्रित फिक्सन ‘रोल्पा सुइना’ होइन । बाबुराम आचार्य, सूर्वविक्रम ज्ञवालीलगायतको नेपाली इतिहास पनि यो होइन । यो त (युद्ध हारेका ?) भुइँमान्छेहरूको कथा हो, (यद्यपि ?) सिमान्तकृत मानिसहरूको व्यथा हो । यो पछि गएर साँच्चै जनताको शासन आयो भने, त्यतिबेला कसैले यो पुस्तक ‘आख्यान’ भन्दा ‘इतिहास’ हो भन्यो भने अतिसयोक्ति हुनेछैन ।
‘रोल्पा सुइना’मा ‘रिपोर्ताज’ शैलीको प्रयोग देखिन्छ । ‘हतारको साहित्य’को यो अलि सिकार भएकै हुन् लेखक । कथालाई न्यारेट गर्ने हो, कि रिपोर्ट ? सबै कथाहरू उस्तै भान हुनु के यसको ‘डाउनफल’ हो ? कथा पढिरहँदा कथा भन्दा संस्मरण पढिरहेको बढ्ता ‘फील’ हुन्छ । ‘संस्मरणात्मक कथा’ नहुने त होइन फेरि ! कथामा न्यारेसन भन्दा केही बढी नै वर्णन, रिपोर्टिङ जस्तो पढिरहँदा केही ‘मोनोटोनस’ महसुस हुन्छ । ‘रोल्पा सुइना’ संस्मरणशील अवश्य होला, तर मरणशील कदापि छैन । नेपाली कविता भूपी–रिमालको बाटोबाट नघुमेजस्तै नेपाली कथा–साहित्य यद्यपि गुरुप्रसाद मैनालीकै शैली–तकनिकीमा लागेको त सर्वविदितै छ । त्यही भएर ‘रोल्पा सुइना’को स्टाइलको पनि कुरा नगरौँ अहिलेलाई ।कथामा हुनुपर्ने आवश्यकीय तत्त्वहरू यसमा नभएका हुन्, कमसेकम परम्परागत कथामा हुने ? ‘रोल्पा सुइना’ रियल स्टोरी त हो, तर तकनिकीलाई हेरेर सोध्नुपर्दा, यो रियल स्टोरी हो, कि न्युज स्टोरी ? यी कथा आर्टिस्टिक हुन्, कि आर्टिकल ? यो छापामार–कृतिमा लेखन भन्दा छापालेखन हावी भएको छ । कुनै कथाहरू त लेख्दालेख्दै बीचमै छोडिएजस्ता पनि लाग्दछन् । यसले आत्मसात् गरेको सत्य आफ्नो ठाउँमा एकदम सही छ, तर भविष्यमा कसैले यो पुस्तक आख्यान होइन भनिदियो भने ?
तर, नेपाली साहित्यमा सबैले हृदयङ्गम गर्नुपर्ने एउटा उल्लेखनीय, पठनीय, सङ्ग्रहणीय र गहकिलो पुस्तक आइपुगेको भने सहीसाँचो हो । र ‘रोल्पा सुइना’ मरणासन्न अवस्थामा छाडिदिने प्रचण्ड, बाबुरामलगायतलाई एकचोटी झ्याङ यिमाउको ‘फ्लावर्स अफ वार’ देखाइदिनुपर्ने थियो, नभए सुनाइदिनुपर्ने थियो, बब डायलनको ‘ब्लोइङ इन द विन्ड’ :
‘हो, र एकजना मानिसलाई कतिपटक हिफाजत चाहिन्छ, जबसम्म उसले आकाश देख्न सकोस् ?
हो, र कोही एकजना मानिसलाई कति कानहरू चाहिन्छ जबसम्म उसले मानिस रोएको सुन्न सकोस् ?
हो, र कति मृत्युुहरू चाहिन्छ उसलाई बुझाउनका निम्ति कि यहाँ धेरै मानिसहरू मरिसके ।
मित्र, यसको उत्तर हावामा गुञ्जिरहेको छ उत्तर हावामा गुञ्जिरहेको छ ।