भक्तपुर, ७ असार । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो ।
बस्नेतको उपचारको दुई घण्टामै मृत्यु भएपछि आफन्त र छिमेकी अस्पताल तोडफोड र कर्मचारी आक्रमणमा उत्रिएपछि वार्डमा भर्ना बिरामीको भागाभाग भएको छ। आईसीयुमा बिरामी राखेकाहरु त्रसित बनेका छन् भने त्यहाँ कार्यरत चिकित्सक, नर्स र कर्मचारी सुरक्षाको खोजीमा दौडिएका छन्। बुधबार अस्पताल पुरै पुलिसको घेरामा थियो। तोडफोडले कुरुप बनेको अस्पताल परिसर स्थानीयबासिन्दाले खचाखच थियो। मृतकका परिवार र आफन्तको रुवाबासी थियो। मृतक उषाको शव राखिएको कोठामा ताल्चा मारिएको थियो। अस्पताल प्रशासक र मेडिकल सुपरिटेण्डेण्ट मृतकका आफन्तलाई सम्झाउने प्रयासमा त थिए तर स्पष्ट जवाफ दिन सकेका थिएनन।
मृतकका आफन्तले घुम्न निस्किँदा सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन् । मृतककी श्रीमान् रामकृष्ण बस्नेतले भन्नुभयो–“हिजो साँझ एकैछिन घुम्न जाउँ भनेर गठ्ठाघरतिर घुम्न निस्किएका थियौँ, उनले छाती दुःखेजस्तो भयो भनेपछि एकपटक चेक गराऔँं भनेर अस्पताल आएका थियौँ, तर अस्पतालकै लापरबाहीका कारण उनको ज्यान गयो ।”
अस्पतालमा परीक्षण गर्दा सबै सामान्य नै भनेर ग्याष्ट्रिक भएर दुखेको हुन सक्ने भन्दै डाक्टरले इन्जेक्सनमार्फत ग्याष्ट्रिकको औषधि दियाँै भनेको केहीबेरमै उषाको ज्यान गएको उहाँले बताउनुभयो । लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ ।
आफन्तले मृतकको शव बुझ्न नमानेको र पीडित पक्षका आफन्त भेला भएपछि आज दिउँसो ११ बजे अस्पतालमा तोडफोड भएको थियो । अस्पतालले हृदयघात (हार्टएट्याक) का कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले भन्नुभयो–“छाती दुख्यो भनेर आएको बिरामीको उपचारकै क्रममा अचानक एमआई हार्टएट्याक भयो, मुटुरोग विशेषज्ञसहित सात जनाको चिकित्सक टोलीले एकघन्टा लगाएर प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन ।”
अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी गर्दै उहाँले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“मृतक पक्षलाई यसबारे जानकारी गराएको भए पनि आज करिब ११ बजे १०–१२ जनाको समूह आएर एक्कासि तोडफोडमा उत्रियो, डाक्टर, नर्सदेखि कर्मचारी समेतलाई हातपात ग¥यो ।’
अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी), ओपिडि, नगद काउन्टर, नर्सिङ स्टेसन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेसिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताउनुभयो ।
तोडफोड गर्नेहरुले अस्पतालका डाक्टर, नर्स र कर्मचारीलाई समेत हातपात गरेको बताउँदै उहाँले इमरेजन्सी र ओपिडीमा रहेका बिरामीमा केहि बेर भागदौड मच्चिएको थियो।
अस्पतालका निर्देशक श्रेष्ठले भन्नुभयो–“अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए अस्पताल जस्तोसुकै कारबाही भोग्न तयार छ, हैन भने तोडफोड गर्नेमाथि कारबाही हुनुपर्छ, क्षतिपूर्ति दिनुपर्छ ।” तर पीडित पक्षले सिसामा सामान्य क्षति भएको र कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् ।
प्रहरीलाई हिजोदेखि नै सुरक्षाको व्यवस्था गरिदिन पटक÷पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण अस्पतालमा धेरै क्षति भएको कर्मचारीको गुनासो छ । महानगरीय प्रहरी वृत्त थिमिको टोली नजिकै भए पनि समयमै सुरक्षा नदिएको र तोडफोड सकिएपछि प्रहरी आएको अस्पताल प्रशासनले जनाएको छ ।
तोडफोडपछि अस्पतालको आकस्मिक कक्ष बन्द गराएर प्रहरीले सुरक्षा दिएको छ ।
उषाको मृत्यु यसरी भयो
मंगलबार साँझ दुई छोरा र श्रीमानका साथ नजिकै घुम्न निस्कदा जुस र चट्पटे खाएकी उषाको फर्खदै गर्दा छाती दुख्यो। श्रीमान रामकृष्णले उहाँलाई स्कुटरमा नजिकै रहेको नागरिक अस्पताल पु¥याउनुभयो। हिँडेरै आकस्मिक कक्षमा पुगेकी उषाको मेडिकल अफिसर र स्टाफ नर्सले ईसीजी गरे। रिपोर्ट सामान्य आयो। उषाको पीडा कम भएन।
त्यसपछि ग्याष्ट्रिक भएको अनुमानमा ‘प्यान्टोपराजोल’ र ‘बुस्कोपान’ सुईद्वारा दिए। मुटुको समस्या कहिलेकाही ईसीजीमा नदेखिन पनि सक्छ भन्दै ‘कार्डियाक इन्जाइम’ परीक्षणका लागि उषाको रगत निकालेर पठाए।
उषाले बान्ता गर्न खोज्नुभयो। पिसाब पनि जाँच गर्नु पर्ने भएपछि उषा बेडबाट उठ्न लाग्दा अचानक बेहोस (मल्टि अर्गान फेल) भएर ढल्नुभयो।
मेडिकल अफिसरको मात्रै डियुटीमा भएकाले एनेस्थसिस्ट डा. रामभक्त कोजुलाई फोन गरेर समस्या बताइयो। श्वासप्रश्वास सहज बनाउने विधि (इन्टियुवेसन) अपानउँदै आईसीयुमा लगेर भेन्टीलेटरमा राखियो। त्यसपछि मात्रै कन्सलट्यान्ट चिकित्सक सहिद गंगाल हृदय रोग केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रोशन रावत, फिजिशियन डा. प्रदिप वैद्य लगायतलाई बोलाइयो।
उनीहरु आउञ्जेल उषाको अवस्था नाजुक भइसेकको थियो। उनीहरुले उपचार सुरु गरेको एक घण्टा नवित्दै उषाको ज्यान गयो। चिकित्सकले अचानक हुने हृदयघात (मायोकार्डियल इन्फ्राक्सन )बाट उषाको मृत्यु भएको जवाफ दिए।