काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष सकिन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित रहेको छ ।
चालु आर्थिक वर्षमा रु तीन खर्ब १२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य निर्धारण गरिएकामा अहिलेसम्म एक खर्ब २४ अर्ब मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आज काठमाण्डौमा आयोजना गरेको त्रिपक्षीय बैठकमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले चालु आवमा लक्ष अनुसारको पुँजीगत खर्च नभएको जानकारी दिदै विकास–निर्माणका परियोजना व्यवस्थापनमा संलग्न सबैलाई गम्भीर भएर काम गर्न आग्रह गर्नुभयो ।
पुँजीगत खर्च ८५ प्रतिशत पु¥याउने लक्ष्य कागजमा मात्र सीमित भएकामा उहाँले भविष्यमा त्यसो हुन नदिन बेलैमा चनाखो हुन पनि सम्बद्ध पक्षलाई अनुरोध गर्नुभयो ।
उक्त बैठकमा सहभागी सरकार, नेपालका विकासका साझेदार र अर्थशास्त्रीले परियोजना कार्यान्वयनमा गम्भीर नहुँदा र कार्यक्षेत्रका समस्या तत्काल समाधान गर्न नसक्दा पुँजीगत खर्च बढ्न नसकेको तर्क गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले कार्यसम्पादन संयन्त्रलाई चुस्त तुल्याउँदै भविष्यमा खर्चवृद्धिका लक्ष्यसहित विकास आयोजना कार्यान्वयन र पुँजीगत खर्च वृद्धिमा जोड दिए ।
एडिबी, विश्व बैंक, विकासका अन्य साझेदारका साथै नेपाल सरकारको लगानीमा सञ्चालन भएका आयोजनाको प्रगति सन्तोषजनक हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र आयोजनासँग सम्बन्धित समस्या समाधानमा केन्द्रित हुन नसक्दा प्रतिफल प्राप्तिमा शिथिलता आएको बताउनुभयो ।
“अर्थ मन्त्रालयसहित सरकारी निकायबाट ढिलासुस्ती भयो भने हामीलाई भन्नुहोस्, समस्या समाधानमा तत्काल लाग्छौँ, जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन,” लक्ष्य र परिणाम हासिल गर्न रकमको कुनै अभाव नहुने र परिणाम प्राप्तिमा सघाउन सरकारले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो ।
दक्षिण एसियाका लागि एडिबीका नायव महानिर्देशक दिवेश शरणले नेपालका ३२ वटा परियोजनामा एडिबीले दुई अर्ब अमेरिकी डलर लगानी गरेको जानकारी दिँदै पूर्वाधार निर्माणका आयोजना सुस्त गतिमा कार्यान्वयन भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षको सक्रिय सहयोगको अपरिहार्यतामा जोड दिनुभयो ।
यहाँस्थित एडिबीका प्रमुख शरद भण्डारीले नेपाल सरकारले आगामी आवका निम्ति सार्वजनिक गरेको बजेटले त्यसको कार्यान्वयन, सुधार र पूँजी वृद्धिका निम्ति गरेको परिकल्पना उत्साहजनक रहेको भन्दै विकास आयोजना कार्यान्वयनमा त्यसले गति दिने विश्वास व्यक्त गर्नुभयो ।
चालु आवमा नेपालको आर्थिक वृद्धि दर ६.९ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गर्दै उहाँले भूकम्पपछिको पुनःर्निर्माण र विद्युत्को अविच्छिन्न आपूर्तिबाट त्यस्तो वृद्धि सम्भव भएको बताउनुभयो ।