काठमाडौ २ असार ।
निर्वाचन आयोगले आजका लागि तय गरेको उमेदवार मनोनयन दर्ताको समय पर्सीका लागि सारिएको छ । आगामी असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज मनोनय दर्ता गर्ने पूर्वतालिका थियो ।
सबै दलको सहभागिता सुनिश्चितताका लागि भन्दै सरकारको आग्रहमा निर्वाचन आयोगले आज का लागि तोकिएको उम्मेदवार मनोनयन दर्ता पर्सी आइतबार सम्मका लागि सारेको हो ।
आयोगले दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १, २, ५ र ७ मध्ये प्रदेश नम्बर २ को निर्वाचन सारेर असोज २ गते गर्ने निर्णय गरेको छ भने बाँकी प्रदेशको पनि निर्वाचन तालिकामा हेरफेर गरेको छ ।
नयाँ तालिका अनुसार उम्मेदवार मनोनयन दर्ता असार ४ गते आरुइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ भने दर्ता भएका उम्मेदवारको सूचि त्यही दिन साँझ प्रकाशन हुनेछ ।
उम्मेदवारको बिरोधमा उजुरी दिन ५ गते बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको आयोगले जनाएको छ ।
यस्तै असार ६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने निर्वाचन चिन्ह पनि सोही दिन प्रदान गरिनेछ । नयाँ तालिका पछि निर्वाचन प्रचार प्रसारको समय भने घटेको छ ।