राजनीतिक हस्तक्षेप होइन, नेतृत्व गर्छु : गृहमन्त्री

राजनीतिक हस्तक्षेप होइन, नेतृत्व गर्छु : गृहमन्त्री

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३१ जेठ । गृहमन्त्री जर्नादन शर्माले आफूले राजनीतिक हस्तक्षेप हैन बरु नेतृत्व गर्ने बताउनुभएको छ ।

आज सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको उद्देश्य पूरा नहुने टिप्पणी गर्नुभयो । आजको छलफलमा सञ्चारकर्मीले दिएका सुझावमध्ये कम्तीमा ७५ प्रतिशत काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री शर्माले बाँकी २५ प्रतिशत आफूले मात्रै चाहेर नहुनुभएकाले अरुको सहयोग लिएर पूरा गर्ने बताउनुभयो ।

आफूले मन्त्रालयअन्तर्गतका सबै निकायलाई उनीहरुको समस्या, समाधानका उपाय र बलियो बनाउने कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र सोहीअनुरुप काम अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो । सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “सिपाहीहरुको मनोबल वृद्धि नगरेसम्म शान्ति सुरक्षा जस्तो कार्य सम्पन्न गर्न सकिन्न । सिपाहीलाई अनुशासित बनाउँदै प्रोत्साहन दिने योजना बनाउँदैछु ।”

आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको उहाँको भनाइ छ । प्रहरी सङ्गठन तँछाडमछाड गर्दै राजनीतिक नेतृत्वको पछाडि दगुर्ने प्रवृत्तिको आफूले अन्त्य गर्ने गृहमन्त्री शर्माले घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “भनसुन गर्नेलाई मैले कारवाही गर्नेछु । यो एक÷दुई दिन मैले हेरेँ । कोही नदगुर्नाेस् भन्दाभन्दै पनि मलाई फोन गर्नेलाई मैले त्यो काम गर्दिनँ भनेर जवाफ दिएँ ।”

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई तालिममा बढावा दिन तथा विभागको उद्देश्यअनुसार विभागलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । पत्रपत्रिकामा आएको समाचारका आधारमा प्रतिवेदन बनाउने विभागको कामलाई सुधार्न आवश्यक देखेको उहाँको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्र स्पष्ट गरिने तथा सरुवा, बढुवाका लागि पद्धति बसालिने उहाँले बताउनुभयो । उहाँका अनुसार निर्वाचन सम्पन्न भएपछि प्रहरीको सङ्घीय संरचना अगाडि बढाइने छ । आज आफूले पूर्व गृहसचिव, पूर्वप्रहरी प्रमुख बोलाएर सुझाव लिएको समेत उहाँले जानकारी दिनुभयो ।

असन्तुष्ट दललाई समेटेर लैजान प्रयासरत
आन्दोलनरत राष्ट्रिय जनता पार्टीप्रति सङ्केत गर्दै गृहमन्त्री शर्माले राजनीतिक असन्तुष्टिलाई दीर्घकालसम्म रहने अवस्था सिर्जना गर्न नहुने बताउनुभयो । असन्तुष्टिलाई समाधान गर्नुपर्ने र त्यसको विधि भनेको वार्ता र संवाद नै भएकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको दायरा फराकिलो भएको छ । विजय गच्छदारजी र उपेन्द्र यादवजीहरु निर्वाचनमा सहभागी हनुभएको छ, अन्य नेताहरु पनि निर्वाचनमा आउनु हुनेछ ।”

शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सरकार र गृहमन्त्रालयले आवश्यक तयारी पूरा गरेको तथा स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले आफ्नो मताधिकार प्रयोग गर्न सकुन् भन्ने आफूहरुको ध्येय रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ