काठमाडौं ,३१ जेठ । कार्यभार सम्हालेको एक साता मै तीन वटा सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको राजनीतिक मोहप्रति गृहमन्त्री जनार्दन शर्मा चकित बन्नु भएको छ ।
कार्यभार सम्हालेको पहिलो दिन गत विहिबार राजनीतिक घरदैलो चहारेर कुनै पनि खालका प्रेसर नदिन निर्देशन दिनु भएका शर्मालाई दुई दिनमै उच्च राजनीतिक नेतृत्वबाट एक एसएसपीको बढुवाका लागि सिफारिस गर्न फोनमा घन्टी बजेपछि उहाँ चकित पर्नु भएको हो ।
‘ चेन अफ कमाण्ड सुधार्ने पहल गर्छु, हाँसो लाग्छ सुरुका दिनमा दिएको निर्देशन दुई दिन नवित्दै उल्लंघन गरियो, सुरक्षा निकायको राजनीतिक मोहले चकित बनायो, मन्त्री शर्माले भन्नुभयो । गृह प्रशासन सुधारकालागि संचारकर्मीका सुझाव लिन बुधबार आयाजित अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले सहि मूल्यांकन गरेर अगाडी बढ्छु भन्दाभन्दै पनि अनावश्यक दौडधुप गरेर आफुलाई प्रेसर दिएमा सम्बन्धीत सुरक्षा अधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
‘ म तीन वटै सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गर्दिन तर राजनीतिक नेतृत्व गर्छु, मन्त्री शर्मा भन्नुहुन्छ ,‘ राजनीतिक नेतृत्व संवैधानिक उद्देश्य अनुसार चल्नुपर्छ, सहि नीति लिएर काम गर्छु, मेरो स्वार्थ र उद्देश्य भन्दा पनि सरकारको इच्छा र चाहाना अनुसार काम हुन्छ ।’ तत्कालीन विद्रोही माओवादीको डेपुटी कमाण्डरको भूमिका निर्वाह गरेका शर्माले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को कार्यशैली प्रति असन्तुष्ट व्यक्त गर्नुभयो । ‘ मैले हाम्रा गुप्तचरलाई यतिमात्रै भने तपाइँहरुले दिने रिर्पोट भन्दा त भोलीपल्टको पत्रपत्रिकामा धेरै हुन्छ, यस्तो सूचना संकलनले हुँदैन अझै परिस्कृत र गोप्य सूचना चाहियो, मन्त्री शर्माले भन्नुभयो,‘ गुप्तचरलाई पुर्नर्संरचना गर्नुपर्ने आवश्यक ठान्छु ।’
सिपाहीको भूमिका प्रति उदार देखिनुभएका शर्माले फिल्डमा सिपाहीको मनोबल वृद्धि नगरि शान्ति सुरक्षा सुधारोन्मुख नहुने धारणा व्यक्त गर्नुभयो । प्रहरी बढुवाबारे मन्त्री शर्माले एउटा छुट्टै प्रणाली बनाएर यथासक्य चाडो गर्ने बताउनुभयो । ‘ समयमा बढुवा नहुँदा धेरै प्रहरी अधिकृतको वृत्तिविकासमा असर गरेको कुरा सत्य हो, अब छिट्टै विधिसम्म ढंगले यो प्रक्रिया अगाडी बढ्छ, शर्मा भन्नुहुन्छ,‘ दो श्रो चरणको निर्वाचन सम्पन्न भएपछि संगठन सुधार र यसका उद्देश्य प्राप्तिप्रति दृढ भएर लाग्ने छु ।’
शर्माले अध्यागमन सुधार, प्रहरी, सशस्त्र प्रहरीको भूमिका एवं कार्यक्षेत्र बाँडफाँड, जिल्ला प्रशासन मार्फत हुने नागरिकता वितरण प्रणालीलाई व्यवस्थित गर्न तत्काल काम थालिने बताउनुभयो । गृहमा बुधबारै पूर्व सचिव, प्रहरी महानिरिक्षक एवं प्रशासकहरुसँग मन्त्री शर्माले गृह प्रशासन सुधारका विषयमा राय माग्नुभएको थियो । अधिकांशले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न सुझाव दिएका थिए । -अन्नपूर्ण पाेष्ट