सप्तरी ,३१ जेठ ।
निर्वाचन बिरोधि गतिबिधि बढेको भन्दै स्थानीय प्रशासनले तराईका विभिन्न जिल्लामा नेपाली सेना परिचालन गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आज सप्तरी सदरमुकाम राजविराजमा सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो क्षेत्रमा सेनाको टोली पुगेको छ ।
स्थानीय प्रशासनले सेना खटाएकोबारे औपचारिक रुपमा केही बताएको छैन । राजपा कार्यकर्ताहरुले निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेका ५५ जना सहायक मतदान अधिकृतलाई जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएका थिए ।
तालिममा सहभागी नहुने सर्तमा राजपा कार्यकर्ताले उनीहरुलाई करिब एक घण्टा नियन्त्रणमा लिएर छाडेका थिए । सो क्रममा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली पुगेको थियो ।
करिब १० मिनेटसम्म नेपाली सेनाको सो टोली निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा रहेर फर्केको थियो ।
पछिल्लो केही दिनयता राजपाको आन्दोलनका क्रममा नेपाली सेनाको उपस्थिति देखिँदै आएको छ । राजविराजमा खटिएका सेनाले स्थानीय सञ्चारकर्मीहरुलाई समेत फोटो खिच्न रोक लगाएको छ ।