नवलपरासि, जेठ ३१ ।
भारतीय अर्धसैनिक बल एसएसबीले आज बिहानैदेखि नवलपरासीको दक्षिणी सीमामा आवतजावत रोकेका छन् ।
सीमा बन्द गरिएको भन्दै एसएसबीका जवानले नेपाल–भारत आवतजावत गर्न चाहने जो सुकैलाई पनि फिर्ता पठाईदिने गरेकाले सीमामा दुवैतर्फ तनाव उत्पन्न भएको छ ।
नवलपरासीको सीमामा रहेको शितलापुर एसएसबी क्याम्पका जवानले मंगलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबीले सीमामा आवतजावत बन्द गराएको हो ।
मंगलबार बेलुका ८ बजे भारततिर जान लागेका साबिकको बसहिया गाविस–६ का ४० प्रदुमन यादवलाई शितलापुर एसएसबी जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उनका भाइ सञ्जु यादवलाई पनि एसएसबीले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय नेपालीले भारतीय एसएसबी क्याम्प शितलापुर घेराउ गरेका छन् । तनाव समाधान गर्नका लागि दुवैतर्फका सुरक्षा अधिकारी घटनास्थल जाँदै छन् ।