सिरहा , ३१ जेठ ।
स्थानीय तह निर्वाचन बहिस्कारको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले तराईमा जारी आन्दोलनलाई थप चर्काउदै लगेको छ ।
मंगलबारबाट बन्द आह्वान गरेर सडकमा उत्रिएको राजपा कार्यकर्ताले २ नम्बर प्रदेश अन्तरगत सप्तरीको राजविराजमा आज ५५ जना मतदान अधिकृतलाई नियन्त्रणमा लिएर १ घण्टापछि छाडेका छन् ।
दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि खटिएका ५५ जना सहायक मतदान अधिकृतलाई राजपाका कार्यकर्ताले आज बिहान नियन्त्रणमा लिएका थिए ।
जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतका लागि आयोजना गरेको तालिममा सहभागी हुन राजविराजस्थित महेन्द्र विन्देश्वर बहुमुखी क्याम्पस पुगेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
तालिममा सहभागी नहुने सर्तमा राजपा कार्यकर्ताले उनीहरुलाइ छाडेको जनाईएको छ ।
सो क्षेत्रमा राजपा कार्यकर्ता बिहानैदेखि धर्ना बसी नाराबाजी गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यलयले आजका लागि तय भएको तालिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
महोत्तरीको जलेश्वरस्थित संघिय समाजवादी फोरमको कार्यलयमा प्रवेश गरी राजपा कार्यकर्ताले पार्टीको झण्डा च्यात्नुका साथै कार्यालय भवनको भित्तामा लेखिएको पार्टीको नाम समेत मेटिदिएका छन् ।