काठमाण्डौ, जेठ ३० ।
न्याय परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि गोपाल पराजुली सहित ६ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ ।
सर्वोच्च अदालत नेतृत्वविहीन भएको एक सतापछि न्याय परिषद्ले आज प्रधानन्यायाधीशका लागि नामहरु सिफारिस गरेको हो । ललितपुरको कुपण्डोलस्थित परिषद कार्यालयमा बसेको बैठकले प्रधानन्यायाधीशका लागि योग्य रहेको भन्दै उनीहरुको नाम संवैधानिक परिषद्मा पठाएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीले उमेरहदका कारण गत बुधवार अवकाश पाएपछि बरिष्ठतम न्यायाधीश पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । न्याय परिषद्ले सिफारिस गरेको नाममा एक नम्बरमा पराजुलीलाई राखेको छ ।
न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्सेर जबरा र जगदीश शर्मा पौडेल समेत प्रधानन्यायाधीशका लागि योग्य रहेको भन्दै न्याया परिषद्ले नाम पठाएको हो ।
न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ ।
यसैविच न्याय परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति २०१० बैशाख १६ गतेलाई सदर गरेको छ । यससँगै पराजुली प्रधानन्यायाधीश भए उनको कार्यकाल ११ महिना हुने भएको छ ।
परिषदले मंगलबार मात्र प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिससँगै पराजुलीको उमेर २०१० बैशाख १६ गते कायम गरिएको जानकारी पनि संवैधानिक परिषदलाई गराएको छ ।