३० जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्लाका दुई नेतालाई सोमबार राति घरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीका जिल्ला सचिवालय सदस्यद्वय अर्जुनप्रसाद चौलागाँई र दिलिप लामा स्याङतानलाई बिनाकारण गिरफ्तार गरेको जिल्ला पार्टी मकवानपुरले जारी गरेको प्रेस विज्ञिप्तमा जनाएको छ । चौलागाँई जिल्ला शिक्षक संगठनका अध्यक्ष समेत हुन् ।
जिल्ला पार्टी मकवानपुरका इन्चार्ज ज्वाला र सेक्रेटरी वाटरले संयुक्त प्रेस विज्ञिप्त जारी गरेर प्रहरीले चौलागाई र लामालाई अपरहण शैलीमा मध्यरातमा सुतिरहेको अवस्थामा जबर्जस्त उठाएर लगेको बताएका छन् । गिरफ्तारको घोर भत्सर्ना गरेको छ ।
भ्रष्टाचार, घुसखोरी, सामाजिक विकृति र अन्यायविरुद्ध संघर्ष गर्दै आइरहेको पार्टीका नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्नुले सरकारले दलाली र तानाशाही चरित्र उदांगो भएको जनाउँदै स्थानीय चुनावलाई जनविरोधी र कथितको संज्ञा दिइएको छ । साथै, गिरफ्तार गरिएका दुवैलाई बिनासर्त यथाशिघ्र रिहा गर्न माग गरिएको छ ।
‘यस मकवानपुर जिल्लामा कथित स्थानीय चुनाव भइसकेको स्थितिमा जिल्ला सचिवालय सदस्य चौलागाँई र लामालाई जेठ २९ गते राति १२ बजेको समयमा घरमा सुतिरहेका बेला प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरिएको विषप्रति पार्टी आपत्ति जनाउँदछ र उहाँहरु दुवै जनालाई तुरुन्त ससम्मान रिहाईको माग गर्दछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
रिहाई नगरिए कडा संघर्षका कार्यक्रम घोषणा बाध्य हुने भन्दै त्यसबाट आइलाग्ने परिणामको पूर्ण जिम्मेवार सरकार हुने चेतावनी समेत विज्ञिप्तमा दिइएको छ ।