काठमाडौ, ३० जेठ ।
खोटाङमा भएको सवारी दुर्घटनामा ११ महिने शिशुको मृत्यु भएको छ । सदरमुकाम दिक्तेलबाट जयरामका लागि छुटेको बा २ ख ७०७१ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा भित्तामा ठोक्किँदा ११ महिने शिशु अजित बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको भित्तामा ठोक्किँदा आमाको काखमा रहेको शिशु झ्यालबाट उछिट्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षीय मनकला राई, ३० वर्षीय अनु राई, १४ बालक नयन राई तथा २१ महिने बालिका समनिया राई र ३३ वर्षीय कृष्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।
यस्तै, घाइतेलाई उपचारका लागि कटारी, धरान लगायतका स्वास्थ्य संस्थातर्फ पठाइएको छ । दुर्घटना लगत्तै बसका चालक आकाश मगर फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच भक्तपुरको ताथलीस्थित चिलाउने घारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
काभे्रको नालाबाट छुटेको बा २ ज २३५२ नम्बरको ट्याक्सी गएराति करिब पौने ११ बजे सडकबाट झण्डै डेढ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक सिन्धुपाल्चेक माङखाका २४ वर्षीय बुद्धिबहादुर लामा र ट्याक्सीमा सवार सिन्धुपाल्चोक सिम्ले ७ का ४० वर्षीय मानबहादुर तामाङ रहेका छन् ।