काठमाडौ ,३० जेठ ।
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वीजरल्याण्ड जाँदै हुनुहुन्छ । उहाँ साँझ ५ बजे संयुक्त अरब इमिरेट्स हुदै त्यसतर्फ जाने कार्यक्रम छ ।
जेनेभामा हुने आइएलओको वल्र्ड अफ वर्क समिटमा उहाँले विषेश वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ । गत साता सुरु भएको आइएलओको १०६ औं सत्रकै क्रममा वल्र्ड अफ वर्क समिट हुन लागेको हो ।
समिटमा नेपालका अलवा मौरिसस र माल्टाका राष्ट्रपति पनि सहभागी हुने कार्यक्रम छ । सम्बोधन मार्फत राष्ट्रपति भण्डारीले नेपालमा नयाँ संविधान मार्फत महिला तथा कामदारका हक, हित र अधिकार सुनिश्चित गरिएको लगायतका विषय अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु हुनेछ ।
यस्तै भण्डारीले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बोर्डको उपसदस्यका लागि दिएको उम्मेदवारीमा समर्थन गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुहुनेछ ।
स्वीजरलयाण्डमा रहँदा राष्ट्रपति भण्डारीसँग आइएलका महानिर्देशक गाई राइडरले भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको सम्मानमा आइएलओको महानिर्देशकले स्वागत समारोह आयोजना गर्ने कार्यक्रम समेत रहेको छ । ६ दिने भ्रमण सकेर उहाँ आगामी आइतबार स्वदेश फर्किनु हुनेछ ।