काठमाण्डौ ,जेठ ३० ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकीदै जाँदा प्रमुख दल तथा अन्य दलहरु उम्मेदवार टुङगो लगाउने कसरतमा जुटिरहेका छन् ।
सत्ता साझेदार दल नेपाली कंग्रेस तथा नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नं १, ५ र ७ मा आ–आफ्नो तर्फबाट लगभग उम्मेदवार टुङगो लगाएको जनाएका छन् ।
तर प्रदेश नं २ मा भने कुनै पनि दलले उम्मेदवारको टुङगो लगाउन सकेको छैन । प्रमुख राजनीतिक दलहरुले आफ्ना उम्मेदवार छनोट हिजो नै गरी सक्ने समय सिमा निर्धारण गरेपनि उनीहरुले उम्मेदवार छनोटमा ढिलाई गरिरहेका छन् ।
यस्तै प्रदेश नं २ ठूलो भएकाले उम्मेदवारको टुंगो लगाउन कठिन भएको बताएको नेपाली कं्रग्रेसले आज सो प्रदेशमा उम्मेदवारको टुंगा लगाउने तयारी गरेको छ । उमेदवार छनोटलाई अन्तिम रुप दिन कांग्रेस शिर्ष नेताहरुको बैठक अहिले सानेपामा बसिरहेको छ ।
बैठकमा दलहरुको विषेश चासोको रुपमा रहेको प्रदेश नम्बर दुईका स्थानीय तहहरुमा पार्टीका तर्फबाट उमेदवार टुङ्गो लगाउने सम्बन्धमा छलफल भइहरेको जनाइएको छ । यस्तै आजको बैठकमा निर्वाचन विथोल्ने गरि राजपाले घोषणा गरेको आन्दोलनबारे समेत छलफल भइरहेको नेताहरुले बताएका छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रदेश कमिटिको सिफारिस केन्द्रमा आइनपुगेकाले प्रदेश नं २ मा उम्मेदवार छनोट गर्न ढिलाई भएको जनाएको छ । माओवादी केन्द्रले २ नं प्रदेशको उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।
दोस्रो चरण अन्तर्गत चारवटा प्रदेशको ४१ जिल्लाको ४ सय ६१ स्थानीय तहमा आगामी असार १४ गते निर्वाचन हुदै छ ।