काठमाडौ , २८ जेठ ।
मतपत्र च्यातिएपछि विवादित बनेको भरतपूर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाई हुदैछ ।
गत आइतबार परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको थियो । आज दुवै पक्षसँगको छलफलपछि सर्बोच्चले निर्णय लिने सम्भावना रहेको छ ।
भरतपूर वडा नम्बर १९ का वडा सदस्यका उमेदवार गुन्जमान विक र अधिवक्त तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएको मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।
रिट निवेदनमा मा निर्वाचन आयोग, आयोगको अनुगमन समिति र जिल्ला निर्वाचन अधिकृतको कार्यलयलाई विपक्षी बनाएको छ । सर्बोच्चले दुवै पक्षलाई छलफलमा बोलाउदै पुनः निर्वाचन गर्ने निर्णय कार्यन्वयन नगर्न आदेश दिएको थियो ।
गत जेठ १४ गते मतगणना अन्तिम चरणमा पुगेका बेला गणना स्थलमा रहेका माओवादी केन्द्रका प्रतिनिधीले मतपत्र च्यातेको आरोप छ ।
त्यसपछि मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको भन्दै निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।