काठमाण्डौ ,२७ जेठ ।
प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा जनताले आफुहरुलाई सत्तापक्ष बनाएको बताउनुभएको छ ।
राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी एकिकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संवैधानिक ब्यवस्थाअनुसार तीन तह मध्ये स्थानीय तहमा एमाले सत्तापक्ष बनेको बताउनु भएको हो ।
उहाँले तीन तहमध्ये स्थानीय तहमा एमाले सत्तापक्ष भएकाले केन्द्रीय सरकारलाई समेत आगामी दिनमा गुण र दोषका आधारमा समर्थन र बिरोध गर्ने बताउनु भयो । ओलीले भन्नुभयो, ’एमालेले अब सरकार र सत्तापक्षको काममा बिरोध र असहमतिमात्र जनाउदैन ।’
संघीय र प्रदेशको निर्वाचन हुन बाँकी रहेपनि पहिलो चरणमा पाएको सफलताले आफुहरु थप उत्साहित भएको उहाँको भनाई छ ।
अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनका कामीकमजोरी सच्याउदै दोस्रो चरणको निर्वाचनमा थप सफलता हात पार्ने दावी गर्नुभयो ।
दुई नम्बर प्रदेशका जनताले एमाले चाहेको दावी गर्दै अध्यक्ष ओलीले मधेशमा गएको बजेट बाटामा नगई बाठाकोमा गएकाले जनता एमालेले स्थानीय तह सम्हालिदिए हुने चाहना राखेको बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष ओलीले प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीसँग एकीकरण भएको घोषणा गर्नुभएको थियो ।