इटहरी, २७ जेठ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिले देशको विभिन्न १७ जिल्लाको जल जमिन र जङ्गललगायतका विषयमा स्थानीय समुदायमा भएको विवाद समाधान गर्न सफल भएको जनाएको छ ।
समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा आज सुनसरीमा आयोजित कार्यक्रममा सुनसरी जिल्लाको जल जमिन जङ्गलसँग सम्बन्ध राख्ने धेरै द्वन्द्वको सहजीकरण गरेर मिलाप गराइसकेको जानकारी गराईएको हो ।
कार्यक्रममा सुनसरीकी राष्ट्रिय स्रोतव्यक्ति कृष्ण राईले सुनसरीमा पाँचवटा भन्दा बढी द्वन्द्वको व्यवस्थापन गरी १२ वटा त्यस्ता द्वन्द्व सम्बन्धी घटनाको अभिलेखिकरण गरेर ती समस्याको निरुपण गर्ने अभियान चलाइरहेको बताउनुभयो । उहाँले समितिले नेपालका १७ जिल्लामा ९५ वटा द्वन्द्व सम्बन्धी घटना मिलाउने कार्य गरेको जानकारी दिनुभयो ।
बैठकमा अभियानको क्षेत्रीय निर्देशक हिम डिसीले जल जमिन र जङ्गलबाहेक अन्य प्राकृतिक स्रोत सम्बन्धी विवाद वा द्वन्द्वलाई व्यवस्थापन गर्दै यसको दिगो समाधानका लागि समितिले सक्रिय पहल गर्दैआएको बताउनुभयो ।
बैठकले सुनसरी जिल्लाको विभिन्न सामुदायिक वन, तालतलैया, बर्जुताल र धरानको सर्दू जलाधार क्षेत्रलगायतका विषयमा पछिल्लो समयमा उत्पन्न विवाद र समस्याको सुक्ष्म अध्ययन गरेर त्यसको समाधान निकाल्ने विषयमा पनि वृहत छलफल गरेको छ ।