काठमाडौँँ, २७ जेठ । नेकपा माओवादी केन्द्रबका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ ।
आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।”
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्ग्चित्र तयार भएको उहाँको भनाई छ ।
देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उहाँले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले मधेस, पहाड र हिमाललाई जुटाउने सन्दर्भमा पनि नयाँ आधार तयार भएको बताउँदै सहिद, घाइते, बेपत्ता तथा आमजनताको त्याग र बलिदान खेर नजाने अवस्थामा आइपुगेको पनि बताउनु भयो ।
अध्यक्ष दाहालले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने र त्यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिसहित मुलुकलाई नयाँ स्थानमा पु¥याउने पनि बताउनु भएको छ ।
कार्यक्रममा सिन्धुपाल्चोकका राप्रपा नेता कोर्जे तामाङ सहितका जिल्ला स्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र प्रवेश गर्ने अन्य नेताहरुमा भूतपूर्व गाबिस अध्यक्ष सिङ्गी तामाङ, भूतपूर्व गाबिस उपाध्यक्ष विष्णुलाल श्रेष्ठ, क्षेत्रीय सदस्य ङावाङ लामा, नेताहरु भोटे वाइवा तामाङ, सेते तामाङ, बीरेन तामाङ, अरब तामाङ, लड्पा तामाङ, सुरज तामाङ, सुकमान तामाङ रहेका छन् ।
त्यस्तै माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा भानुदास श्रेष्ठ, गिमिरे तामाङ, फुरसिंगे शेर्पा, बोलबहादुर तामाङ, बीरबहादुर तामाङ, डक्पो लामा, दलबहादुर तामाङ, दामा तामाङ झाँकी रहेका छन् । त्यसै गरी एमालेका संगठित सदस्य दावा तामाङ, नेपाल गुजारियो कराँतेका सुरेश मगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो ।