काठमाण्डौ ,२६ जेठ ।
राष्ट्रिय योजना आयोगले दोस्रो चरणको बहुक्षेत्रीय पोषण योजना ७ सय ४४ वटै स्थानीय तहमा जारी गर्ने भएको छ ।
पहिलो चरणको कार्यक्रम २०१७ मा सकिने भएपछि योजना आयोगले दोस्रो चरणको कार्यक्रम अन्तरगत आगामी बर्षदेखि स्थानीय तहमा सञ्चालन गर्ने भएको हो ।
नेपालमा मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ २८ जिल्लामा लागु गरिएको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत दोस्रो चरणका कार्यक्रम सबै स्थानीय तहमा र्पुयाउने तयारी आयोगले गरेको हो ।
आयोगको पोषण तथा खाद्य सुरक्षा सचिवालयले आज राजधानीमा गरेको अन्तरक्रियामा सचिवालयका सह–सचिव खोमराज कोइरालाले आगामी बर्षबाट योजना सुरु गर्ने भएपनि एक महिना भित्रै कार्यक्रम घोषणा गर्ने दावी गर्नुभयो ।
१० वर्षे योजना अन्तर्गत, २०१७ सम्मको पहिलो चरणको मूल्यांकन गर्दै योजना आयोगले २०१८ देखि ०२२ सम्मका लागि दोस्रो चरणको पोषण कार्यक्रम ल्याउन लागेको कोईरालाको भनाई छ ।
पोषण शाखाका कार्यक्रम निर्देशक कृष्ण मुरारी न्यौपानले कुपोषणका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेकाले पहिलो २०१३ देखि २०१७ सम्मको पहिलो चरणको मूल्यांकन गर्दै दोस्रो चरणलाई प्रभावकारी बनाउने दावी गर्नुभयो ।
सन् २०१६ को तथ्यांक अनुसार १० बालबालिकामा ३ जनाले न्युनतम पोषणयुक्त खानेकुरा पाइरहेको तथा ७ जनामा रक्तअल्पता हुने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
अभावका कारण भन्दा पनि भएका खानेकुरालाई मिलाएर खान नजान्दा तथा व्यवहारमा परिवर्तन नआउँदा कुपोषणको समस्या भइरहेको योजना आयोगको भनाई छ ।