संसद बैठक : सांसदहरुबाट देउवालाई यस्ता आए सुझाव र आग्रह !

संसद बैठक : सांसदहरुबाट देउवालाई यस्ता आए सुझाव र आग्रह !

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, २६ जेठ ।

सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै सांसद अग्निप्रसाद सापकोटाले पहिलोचरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको सन्दर्भमा आगामी असार १४ गते दोस्रो तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर राष्ट्रिय आवश्यकता पूरा गर्न देउवा नेतृत्वको सरकार सफल हुने पनि दाबी गर्नुभयो ।

यस्तै सांसद सुवास नेम्वाङले देउवा नेतृत्वको सरकारमा महिला, जनजाति, आदिवासी तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको माग गर्दै प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर अगाडि जान सुझाव दिनुभयो ।

उहाँले राष्ट्रिय एकता र संविधानको सर्वस्वीकार्यताको मार्गमा सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रतिपक्षी दललाई हरेक स्थानमा पेल्ने काम भएको गुनासो गर्दै सांसद नेम्वाङले आफूहरुको पनि विश्वास जितेर काम गर्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।

सांसद सीतादेवी यादवले नवनिर्वा्चित प्रधानमन्त्री देउवाबाट अपूरो रहेको शान्ति प्रक्रियालाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने काम हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्का सांसद गङ्गा चौधरीले थारु, आदिवासी, जनजातिको माग सम्बोधन गर्न र मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो ।

उहाँले भुट्टा मुद्दा लगाइएका थारु अगुवाको तत्काल मुद्दा खारेज गरी सबै वर्ग तथा क्षेत्रलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विशेष ध्यान दिन आग्रह गर्दै एनसेलले पुँजीगत लाभकर नतिरेकोबारे नयाँ सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसद् प्रेमबहादुर सिंह र कुमार खड्काले प्रधानमन्त्री देउवा आर्थिक वृद्धि, संविधान कार्यान्वयन, तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सफल हुने विश्वास ब्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री बनाउन संविधान मान्ने मधेस केन्द्रत दलको स्थानीय तहको निर्वाचनलाई अस्वीकार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

यस्तै केही सांसदले भने मधेस केन्द्रित दलसँग गरिएको सहमतिका आधारमा तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरु धमेन्द्रकुमार साह तेली, नरसिंह चौधरी, महेन्द्रराय यादवले मधेसी, आदिवासी, जनजातिको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

सांसद सर्वेन्द्रनाथ शुक्लले तराई–मधेसमा विभिन्न प्रकारका शङ्का तथा उपशङ्का उत्पन्न भइरहेको भन्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ