२५ जेठ,कपिलवस्तु । नेपाली कांग्रेसका दुई सय नेता-कार्यकर्ताले परित्याग गरेका छन् । महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता-कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
कपिलवस्तु जिल्लाका नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनाको घोषणा गरेका छन् ।नेता पाण्डेयसँगै महाराजगंज ईकाई सभापति बलराम यादव, सचिव पशुपति मौर्य, कोषाध्यक्ष हनुमान गुप्ता, क्षेत्रीय सदस्य मुनीराम यादव लगायतका नेताहरुले पार्टी परित्याग गरेका हुन् ।
नेपाली कांग्रेसले सो नगरपालिकामा पार्टीका कार्यवाहक सभापति अब्दुल कलाम खांलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण उम्मेदवारको आकांक्षी धेरै जना हुने गरेको र उम्मेदवार बनाउन छुटेका अग्रज कार्यकर्ताहरुलाई अन्य स्थानमा समेट्ने पार्टीले नीति लिएको पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले बताए ।