उदयपुर ,२३ जेठ ।
उदयपुरको चौदण्डी नगरपालिकामा उमेदवारको बिषयलाई लिएर नेकपा एमालेभित्र चरम विवाद सिर्जना भएको छ ।
नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले आज एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गरि कालोझण्डा राखेका छन् ।
कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुकासाथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका हुन् ।
तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका गर्दै आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेकोले उक्त निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् ।
पार्टी भित्रको आन्तरिक विवादका बिषयमा आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी जलाउनुका साथै कालो झण्डा राख्ने काम गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले बताउनु भयो ।
सिफारिसभन्दा वाहेकका उमेदवार मान्दैनौ, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका कार्यकर्ताको जुलुस पुष्पलाल चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय नेताले सम्बोधन गरेका थिए ।
पार्टीको केन्द्रीय सर्कुलर वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरु वीच समझदारी बनेको थियो ।
चार जनामा जसलाई टिकट दिएपनि विवाद सिर्जना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद भएको हो ।
प्रदेश कमिटीको उक्त निर्णयसँगै स्थानीय कार्यकर्ताले सिफारिसमा परेका चार जनालाई घेरा हाली चार मध्ये १ जना सर्वसहमत नभएसम्म पार्टी कार्यालयबाट निस्कन नदिने भन्दै दुई घण्टासम्म पार्टी कार्यालय भित्रै थुनेका थिए ।
कार्यकर्ताको तिव्र विरोधका बाबजुद उनीहरुले प्रदेशको उक्त निर्णय नमान्ने र सामाजिक व्यक्तित्व पुर्व क्षेत्रीय कमिटी अध्यक्ष एवंम बुद्धीजीवि परिषद उदयपुरका अध्यक्ष कुमारसिंह कार्कीलाई सर्वसहमत उमेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा मेयरका आकांक्षी कालु लामाले बताउनुभयो ।
आफ्नै कार्यकर्ता पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि पार्टी शुभेच्छुक तथा मतदाताहरु अन्यौलमा देखिएका छन् । एमाले आन्तरिक विवादमा फसेको भन्दै विपक्षी पार्टी भने उत्साहित देखिएका छन् । एमाले भित्र विवाद चुलिदै जाँदा मतदाता आफ्नो पंक्षमा पार्ने योजनाकासाथ विपक्षी पार्टी लागेको देखिन्छन् ।