काठमान्डौ जेठ २२ ।
मधेश केन्द्रित ६ दलबीच एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्र दल दर्ता गर्ने कि नगर्ने भन्नेमा विवाद उत्पन्न भएको छ । विवादका कारण आज हुने भनिएको दल दर्ता अन्यौलमा परेको छ ।
नेताहरुबीच दल दर्ता गरेर चुनावमा जाने कि आन्दोलनमा जाने भन्नेमा मत नमिलेपछि आज बस्ने भनिएको अध्यक्ष मण्डलको बैठक समेत स्थगित भएको छ ।
यसअघि शनिबार र हिजो बसेको अध्यक्ष मण्डलको बैठकमा दल दर्ता, विधान र घोषणा पत्रलगायतका विषयमा सहमति जुट्न नसकेपछि आज बैठक बसेर निर्णय गर्ने भनिएको थियो ।
अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव आज उपत्यका वाहिर जाने भएकाले बैठक बस्न नसकेको बताइएको छ ।
अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादव र शरदसिंह भण्डारीले तत्काल दल दर्ता गर्न नहुने अडान राखेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल कुमार झा र राजकिशोर यादव भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।