सचिव र अध्यक्ष हुँदै प्रमुख बनेका गुरुङले नमुना गाउँ बनाउने

सचिव र अध्यक्ष हुँदै प्रमुख बनेका गुरुङले नमुना गाउँ बनाउने

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

गोरखा, १९ जेठ । गोरखाको विकट पर्यटकीय गाउँ लाप्राकका सन्तोष गुरुङ गाविस सचिव, अध्यक्ष हुँदै हालै सम्पन्न स्थानीय तह निर्वाचनमार्फत गाउँपालिका प्रमुख बन्नुभयो । पाँचवर्षे कार्यकालमा गाउँलाई नमुना पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने उहाँको धोको छ ।

लाप्राकको गुप्सीपाखालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने, तल्लो मनास्लुमा पर्यटक भित्र्याउने, कासीगाउँमा भ्यूटावर बनाउनेजस्ता महत्वाकाङ्क्षी योजना गुरुङको छ । निर्वाचन जितेपछि पदबहाली गर्दै गुरुङले पहिलो निर्णय जलविद्युत्मा लगानी गरी जलविद्युत् निकाल्दै बिक्री गरी गाउँको गरिबी न्यूनीकरण गर्नेमा हस्ताक्षर गर्नुभयो । दुर्गम गाउँलाई गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने, जङ्गलमा खेर गइरहेका जडीबुटीलाई कसरी उपयोगमा ल्याउने, भूकम्पबाट विस्थापित भएका गाउँलेलाई कहाँ स्थापित गर्ने भन्ने चुनौती गुरुङलाई छ ।

“लुइँटेलको अमरज्योति माविमा पढ्दादेखि नै गाउँलेले यो केटाले गाउँको विकासका लागि केही न केही गर्छ भन्ने विश्वास लिएका रहेछन्”, धार्चे गाउँपालिका प्रमुख गुरुङले पुराना कुरा स्मरण गर्दै भन्नुभयो, “पाँच वर्ष लाप्राकको सचिव (कर्मचारी)का रुपमा काम गरेँ । २०५४ को स्थानीय निकाय निर्वाचनबाट सर्वसम्मत लाप्राक गाविस अध्यक्ष बनेँ ।”

सचिव भएर काम गर्दा प्रशासनिकरुपमा कामकाज कसरी गर्ने भन्ने जानकारी हासिल गरेको बताउँदै उहाँले गाविस अध्यक्ष बनेपछि गाउँले के चाहन्छन् ? समस्या के हुन् भन्ने पहिचान गरी समाधानका उपाय खोजेपछि गाउँले खुसी भएको बताउनुभयो ।

सचिव हुँदा गाउँलेका लालपुर्जा, नागरिकता, विवाह दर्तालगायत कामकाज सफलरुपमा सम्पन्न गरेको उहाँको भनाइ छ । सचिव र अध्यक्ष हुँदा सँगालेका अनुभव नयाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन हुँदा गाउँपालिका प्रमुख पदमा निर्वाचन लड्दा उपयोगी बनेको गुरुङको भनाइ छ ।

भावी योजनाबारे उहाँले भन्नुभयो, “म एक्लो व्यक्ति कराएर केही विकास हुँदैन । म योग्य समूह रहेको विज्ञ टोली बनाउँछु र ७ वडाका आवश्यकता पहिचान गरी गुरुयोजना बनाएर विकास, निर्माणका काम सुरु गर्छु ।” सचिव, अध्यक्ष हुँदा पारदर्शी ढङ्गले गाउँलेको पक्षमा काम गरेकाले गाउँलेले पुनः गाउँपालिका प्रमुखमा निर्वाचित गराउँदै गाउँलाई समृद्ध र विकसित बनाउन निर्वाचनमार्फत आग्रह गरेको गुरुङले तर्क गर्नुभयो ।

भूकम्प र पहिरोबाट विस्थापित केरौँजालगायत गाउँका बस्तीलाई कहाँ स्थापित गर्ने, धार्चे गाउँपालिकाको केन्द्र कहाँ राख्ने, सबै वडामा विकासका पूर्वाधार कसरी विस्तार गर्ने, धार्चे र मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै जडीबुटीको व्यवस्थापन कसरी गर्ने भन्नेलगायत चुनौती गुरुङका सामु छन् । गुरुङले लामो समयदेखि नेपाली काँग्रेसका विभिन्न पदमा रहेर राजनीति गर्दै ‘अठारसय खोला’ क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।

निर्वाचनमा विजयी भएका तथा पराजय भोगेका दलका नेता तथा कार्यकर्ताको सहयोगमा धार्चे गाउँपालिकालाई नमुना पर्यटकीय गाउँका रुपमा विकास गर्ने अठोट गुरुङले लिनुभएको छ ।

भूकम्पले ध्वस्त गाउँ पुनर्निर्माणमा ढिलाइ हुँदा टहरोमा गाउँपालिकाको कार्यालय सञ्चालन गर्नु परेको छ । निजी आवास पुनर्निर्माण गर्न गाउँमा बैंक नहुँदा अनुदान झिक्न गाह्रो भएको र अनुदानबाटै वञ्चित हुनु परेको गुनासो गाउँलेको रहेको उपप्रमुख फूलमाया गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ